बाजुरा, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा बाजुरामा नेपाली कांग्रेसले अग्रता लिएको छ । जिल्ला समन्वय समिति बाजुरामा भइरहेको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले एक हजार ८६९ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।
उहाँलाई नेकपा (एमाले)का उम्मेदवार लालबहादुर थापाले पछ्याउनुभएको छ । थापाले एक हजार ११० मत प्राप्त गर्नुभएको छ । हिमाली गाउँपालिकाका तीन हजार ६१३ मतगणना गर्दा कांग्रेसले सुरुवाती देखि नै अग्रता लिएको हो ।
शुक्रबार बेलुकी ७ बजेबाट सुरु भएको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिनुभयो । यहाँका ८७ हजार ८६१ मतदातामध्ये ४५ हजार ३९० जनाले मतदान गनुभएको थियो । एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्रसहित आठ जना उम्मेदवार हुनुहुन्छ ।