फागुन २२, २०८२ शुक्रबार

सुदूरपश्चिम, २२ फागुनः प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले अग्रता बढाउनुभएको छ ।

सुरुदेखि नै अग्रस्थानमा रहनुभएका नेपाली कांग्रेसका जनकराज चौधरीलाई पछि पार्दै ज्ञवालीले दुई हजार ७२४ मत प्राप्त गरी अग्रता बढाउनुभएको हो । 

कांग्रेसका चौधरीले दुई हजार ५७६ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले एक हजार ५८७ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कैलाली क्षेत्र नं २ मा नेकपा (एमाले)का सूर्यबहादुर शाहले ९३२ मत प्राप्त गरी अग्रता बनाउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ८१० मत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नन्दबहादुर साउदले ८०५ मत प्राप्त गरेर पछ्याइरहनुभएको छ । 

क्षेत्र नं ३ को मतगणना परिणामअनुसार नेकपाका वीरमान चौधरी ९४२ मत प्राप्त गरी अग्रता लिनुभएको छ । उहाँलाई रास्वपाका जगत जोशीले ८६२ मत र नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीले ८१५ मत प्राप्त गरी पछ्याइरहनुभएको छ ।

क्षेत्र नं ४ को जारी मतगणनामा रास्वपाका खेमराज कोइरालले १८४ मत प्राप्त गरी सुरुआती अग्रता बनाउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका गोरखबहादुर विष्टले १३२ मत र नेकपा (एमाले)का लेखराज भट्ट १०६ मत प्राप्त गरी पछ्याइरहनुभएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)मा रास्वपाका आनन्दबहादुर चन्दले सुरुदेखि नै अग्रता कायम राख्नुभएको छ । पछिल्लो मतगणनाअनुसार उहाँले छ हजार ७३ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसका नरनारायण शाहले दुई हजार ३४८ मत र नेकपा (एमाले)का यज्ञराज ढुङ्गानाले एक हजार ५२० मत प्राप्त गरी पछ्याइरहनुभएको छ ।