वीरगञ्ज (पर्सा), २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साको चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् ।
पर्साको मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले पर्साको क्षेत्र नम्बर १ मा सात हजार ७३६ मत गन्दा रास्वपाको उम्मेदवार बुद्धिप्रसाद पन्तले तीन हजार ४०४ मत प्राप्त गर्नुभएको जानकारी दिनुभयो ।
उम्मेदवार पन्तलाई नेकपा (एमाले)का उम्मेदवार प्रदीप यादवले एक हजार ६३८ मत ल्याएर पछ्याई रहनुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार रूगँटाले भने एक हजार ३६२ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उम्मेदवार सुशीलकुमार कानुले छ हजार ७०९ मत ल्याएर अग्रता कायम राखेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले दुई हजार ७७९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा (एमाले)का रिमाकुमारी यादवले दुई हजार ५६२ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नम्बर ३ मा पनि रास्वपाकै उम्मेदवार रामाकान्त चौरसियाले दुई हजार ८४८ मत ल्याएर अग्रता कायम राखेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले एक हजार ३१५ मत ल्याएर पछ्याई रहनुभएको छ । पर्साको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार टेकबहादुर शाक्यले एक हजार ४१२ मत ल्याएर अग्रता कायम राखेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले ६०८ मत ल्याएर पछ्याई रहनुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार जालिम मियाँ मन्सुरीले भने ३५२ मत प्राप्त गर्नुभएको छ ।