बारा, २२ फागुनः बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाराका चारवटा निर्वाचन क्षेत्रमध्ये दुई वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार हालसम्म दुई वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक गरिएकामा दुई वटै क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता लिएका हुन् ।
निर्वाचन क्षेत्र नं १ मा हालसम्म ११ हजार १४१ मत गणना भएको छ । त्यसमध्ये ७८८ मत बदर भएका दाहालले जानकारी दिनुभयो । हालसम्म भएको गणनामा रास्वपाका उम्मेदवारले पाँच हजार ८७७ मत प्राप्त गरी अग्रता लिनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवारले एक हजार ९४३ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारले एक हजार ५५५ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका उम्मेदवारले अग्रता बनाएका छन् । यहाँ रास्वपाले १५ हजार १३८ मत प्राप्त गर्दा कांग्रेसले चार हजार १९, जनता समाजवादी पार्टीका उम्मेदवारले दुई हजार २६०, जनमत पार्टीका उम्मेदवारले एक हजार ६३५ र एमालेका उम्मेदवारले एक हजार ५२ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत दहालका अनुसार मतगणना जारी छ । हालसम्म गणना गरिएका मतमध्ये करिब एक हजार ५०० मत बदर भएका उहाँले जानकारी दिनुभयो ।
---