फागुन २१, २०८२ बिहिबार

काठमाडौँ, २१ फागुनः द एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (एएनएफरेल) ले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको जनाएको छ । निर्वाचनको अवलोकनपछि आज जारी वक्तव्यमा एएनएफरेलले मतदाताको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रक्रियाप्रति नेपाली नागरिकको प्रतिबद्धता पुनः पुष्टि भएको उल्लेख गरेको छ ।

एएनएफरेलका अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले देशभरका ३०३ मतदान केन्द्रको अवलोकन गरेका थिए । अवलोकन गरिएका अधिकांश केन्द्रमा मतदान प्रक्रिया सहज र व्यवस्थित ढङ्गले सञ्चालन भएको एएनएफरेलले उल्लेख गरेको छ । 

वक्तव्यमा निर्वाचन आयोग, मतदान अधिकृत, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूले निर्वाचन व्यवस्थापनमा खेलेको भूमिकाको प्रशंसा गरिएको छ । मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेकाले समग्र वातावरण स्थिर र शान्तिपूर्ण रहेको पनि एएनएफरेलले जनाएको छ ।