काठमाडौँ, ५ पुस : एसियाली विकास बैंक (एडिबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली क्षेत्रका चार अखडाका ढोका साँघुरा हुँदा गाई पाल्ने परम्परा नै लोप हुने अवस्था सृजना भएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका यस क्षेत्रका सम्पदाको पुनर्निर्माण अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गरेको हो । बनेका यस क्षेत्रका सम्पदास्थलका गौशालाका ढोका साँघुरा हुँदा समस्या भएको हो । अधिकार सम्पन्न वाग्मती समितिका इञ्जिनीयरले गरेको इञ्जिनीयरिङअनुसार पुनर्निर्माण भएका गौशालाका ढोका साँघुरा हुँदा समस्या भएको श्रीराम मन्दिर वैरागी अखडा थापाथलीका महन्त रामस्वरुप वैष्णवदासले राससलाई जानकारी दिनुभयो ।
भूकम्पअघि थापाथली क्षेत्रका चार अखडामा गरी १५० वटा गाई पालिन्थ्यो । भूकम्पपछि बनेका गौशालाका ढोका साँघुरा हुँदा गाई पाल्ने हिसाबले मात्र प्रत्येक अखडामा एक, दुई गाई पालिएको छ । यी गौशालामा गाई पाल्न धेरै अप्ठ्यारो परेको गौसेवकको गुनासो छ । समितिका इञ्जिनीयरले ध्यान दिन नसक्दा यस्तो समस्या आएको काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार बताउनुहुन्छ ।
थापाथली क्षेत्रमा वैरागी अखडासँगै उदासी, सन्न्यासी र गोरखनाथ अखडा पनि छन् । प्रधानमन्त्री जङगबहादुर राणाले बेलायतबाट फर्केपछि थापाथलीमा चार अखडामा विभाजन भएका उहाँले सुनाउनुभयो ।
---