पुस ४, २०८२ शुक्रबार

कर्णाली, ४ पुसः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ । 

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित स्थानीय खाद्य प्रणाली रुपान्तरण परियोजनाअन्तर्गत ‘कर्णाली संवाद’ सुरु भएको हो । संवादको उद्घाटन आज कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले गर्नुभएको हो ।

उक्त संवादमा कर्णालीमा उत्पादित कृषि उपज, त्यसको पहिचान, ग्रेडिङ, प्याकेजिङ बजारीकरण र ट्रेडमार्कका लागि मूल्यावन लोगो प्रयोगले प्राप्त अवसर, देखिएका चुनौती र आगामी कार्यदिशाका बारेमा सरोकारवालाबीच संवाद सुरु भएको छ । 

एन्साबका कार्यकारी निर्देशक डा भीष्मप्रसाद सुवेदीले मूल्यवान लोगो सुरुवात गरेको कर्णालीले प्राङ्गारिक अभियानमा राज्यको अगुवाइ गरेको बताउँदै जैविक विविधताका हिसाबले विश्वमा धनी मानिने यहाँको परम्परागत ज्ञान, उत्पादन र खाद्य प्रणालीलाई संरक्षण र प्रवद्र्धन गर्ने ध्येयले संवादको आयोजना गरिएको जनाउनुभयो ।

संवादले कर्णालीको खेतबारी र पाखो भूमिमा उत्पादित रैथाने कृषि उपज, यसको पहिचानको आवश्यकता, पछिल्लो अवस्था तथा संरक्षण तथा संरक्षण सरकारी निकाय तथा गैर सरकारी सङ्घ संस्था र निजी क्षेत्रबाट भएका प्रयास एवं यहाँको उत्पादन, गुणस्तर र बजारीकरणमा नेपालसहित विश्वमा प्रवाह भएको सन्देशका बारेमा छलफल हुने लिबर्डका रणनीतिक कार्यक्रम लिडर रिता गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा जुम्लाको तातोपानी, दैलेखको दुल्लु नगरपालिका र सुर्खेतको बराहताल गाउँपालिका, गुर्भाकोट, भेरीगङ्गा नगरपालिकाका प्रमुख÷अध्यक्ष, मध्यपश्चिम विश्वविद्यालयका कृषि तथा पर्यावरणीय क्षेत्रका अनुसन्धानकर्ता, उद्योग वाणिज्य सङ्घ, कृषिसँग सम्बन्धित सङ्घसंस्था, उद्योगी, व्यवसायीसहितका सरोकारवालाको सहभागिता रहेको छ ।