सिरहा, ४ पुसः लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।
नगर प्रमुख महेश चौधरी र वडा नं ५ का अध्यक्ष अब्दुल करिमको उपस्थितिमा मृतक डोमनीदेवीको परिवारलाई एक क्विन्टल चामल, तीन किलोका दरले दाल, नुन, तेल तथा एक थान फाइबर सिरक प्रदान गरिएको हो । साथै घर छाउन आवश्यक जस्तापाता पनि उपलब्ध गराइने प्रतिबद्धता नगर प्रमुख चौधरीले व्यक्त गर्नुभएको छ ।
राहत हस्तान्तरणका क्रममा नगर प्रमुख चौधरीले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै भन्नुभयो, “नगरपालिकाले गरिब, विपन्न, दलित तथा मुसहर समुदायका नागरिकको दुःखमा साथ दिन प्रतिबद्ध छ, यस्ता परिवारका सदस्यको मृत्यु भएपछि राहत सामग्रीका साथै मुसहर परिवारको हकमा काजकिरिया गर्न थप रु पाँच हजार आर्थिक सहयोगसमेत गर्दै आएका छौँ ।”
वडाध्यक्ष करिमले मानवीय संवेदनाका आधारमा नगरपालिकाले सहयोग गर्दै आएको बताउँदै भन्नुभयो, “डोमनीदेवीको असामयिक निधनले परिवार ठूलो सङ्कटमा परेको छ, वडाकोतर्फबाट पनि आवश्यक सहजीकरण र सहयोग निरन्तर रहनेछ ।”
मृतक डोमनीदेवीका पाँच छोरी र एक छोरा छन् । उहाँको पति गुदर मोची जुत्ताचप्पल सिलाइ गरेर परिवारको गुजारा चलाउँदै आउनुभएको छ । आर्थिक अवस्था कमजोर रहेकाले नगरपालिकाबाट प्राप्त सहयोगले केही राहत मिलेको डोमनीका पति गुदरले बताउनुभयो । “यस्तो पीडाका बेला नगरपालिकाले सहयोग गरेकामा हामी आभारी छौँ, यसले परिवारलाई ठूलो सहारा मिलेको छ”, उहाँले भन्नुभयो ।
यसैबीच, लहान–१८ मा ७० वर्षीय बचकुनी सदायको निधनपछि त्यहाँका पीडित परिवारलाई पनि नगरपालिकाले आजै राहत सामग्री हस्तान्तरण गरेको छ । काजकिरिया गरिरहेका भोली सदायले दुःखको घडीमा नगरपालिकाले साथ दिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । नगरपालिकाले आगामी दिनमा पनि गरिब, विपन्न तथा असहाय परिवारलाई लक्षित गर्दै यस्ता राहत तथा सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।