पुस ३, २०८२ बिहिबार

गोरखा, ३ पुसः जाडो बढ्दै गएपछि जिल्लाको हिमाली भेगका बासिन्दा सहर झर्न थालेका छन् ।  चुमनुब्री गाउँपालिका–१ र वडा नं ७ का बासिन्दा विगत वर्ष जस्तै यस वर्ष पनि जाडो छल्न धमाधम सहर झर्न थालेका हुन् । 

    “अहिले ८० प्रतिशत गाउँले काठमाडौँ पुगिसके, बाँकी घर कुर्न बसेका छन्”, चुमनुब्री–७ छेकम्पारको पासाङफुञ्जो लामा भन्नुहुन्छ, “अहिले हरेक घरमा एक जनामात्र होलान् ।” गाउँ कुर्न बसेकाले खेतीपाती र बस्तुभाउको रेखदेख गर्ने उहाँको भनाइ छ । गाउँमा रहेकाले छरछिमेक तथा आफन्तको घरको रेखदेख गरिदिने उहाँले बताउनुभयो । 

    जाडो बढेपछि मङ्सिर दोस्रो सातादेखि लेकको चरन र खर्कमा राखिएका चाँैरी गाउँमा झारिएको छ । याक भने हिमाली क्षेत्रको चरनमै रहेको सोही वडाका वडाध्यक्ष टासी लामाले बताउनुभयो । “याकको भुत्ला बाक्लो हुने भएकाले लेकमै छाडिन्छ । चौँरीलाई भुत्ला पातलो भएकाले गाउँमा ल्याएर आफ्नै घरमा राख्ने चलन छ,”, उहाँले भन्नुभयो । 

    चुमनुब्री–१ मा पनि बस्ती खाली हुन थालेका छन् । तिब्बत सीमाना नजिक पर्ने साम्दो गाउँ खाली हुन थालेको त्यहाँका स्थानीयवासीको भनाइ छ । यहाँका करिब ४५ घरधुरीमध्ये दश, १५ घरबाहेक सबै घरका बासिन्दा ताला लगाएर सहर झरेका स्थानीय वाङ्चुक राप्तेन लामाले जानकारी दिनुभयो । “धेरै घर खाली भइसकेका छन्”, उहाँले भन्नुभयो, “एक दुईबाहेक होटल पनि बन्द भएका छन् ।”

    जाडो बढेपछि चुमनुब्री–२ को ल्हो माविका विद्यार्थीलाई आरुघाट गाउँपालिका–४ को कोखेटारमा सारिएको छ । आउँदो चैतसम्मका लागि विद्यालय नै तल स्थानान्तरण गरिएको त्यहाँका प्रधानाध्यापक बाबुराम धमला बताउनुहुन्छ । 

    उनीहरु सहर झरेकाबेला तीर्थाटनका लागि धर्मशाला, लुम्बिनी तथा विभिन्न धर्मगुरुको समीपमा जाने गर्छन् । “धेरैजसो तीर्थ गर्न जान्छन् । कोहीकोही काठमाडौँमा पढ्ने छोराछोरीसँग घुमफिर गरेर समय बिताउँछन्”, चुमनुब्री–७ निलेको लोप्साङ लामा भन्नुहुन्छ, “हाम्रातिर घरमा ढोका लगाएर सबै सहर झर्दैनन् । कम्तीमा प्रत्येक घरमा एक जना घर कुरुवा बस्छन् ।” अहिले सहर झरेका सहरमै ग्याल्बो ल्होसार मानेर गाउँ फर्कने उहाँको भनाइ छ ।