सिरहा, १ पुसः यहाँको लहान नगरपालिकाले सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीहरूलाई उपयुक्त शैक्षिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई भौतिक सामग्री वितरण गरेको छ । यसै क्रममा आज नगरपालिकाले कूल ३३० थान नयाँ डेस्कबेञ्चसहित विद्यालय प्रशासनलाई थप जवाफदेही बनाउन उजुरी पेटिकासमेत वितरण गरेको छ ।
एक समारोहबीच नगरप्रमुख महेशप्रसाद चौधरीले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख चौधरीका अनुसार यस कार्यका लागि नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको थियो ।
नगरप्रमुख चौधरीले भन्नुभयो, “सामुदायिक विद्यालयको सुधार नगरी समग्र शिक्षा सुधार सम्भव छैन ।” उहाँकाअनुसार, अघिल्लो आर्थिक वर्षमा ३०० थान डेस्कबेन्च वितरण गरिसकेको र आगामी शैक्षिक सत्रबाट विद्यार्थीलाई कापी र डटपेन उपलब्ध गराउन बजेटको व्यवस्था गरिएको छ ।
यसका अतिरिक्त, ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत पशुपति आदर्श माध्यमिक विद्यालयलाई रु २० लाख छुट्याइएको छ । प्रविधियुक्त शिक्षणका लागि ३६ थान स्मार्ट बोर्ड वितरण गर्ने हिसाबले खरिद प्रक्रिया सुरु गरिएको छ । भौतिक पूर्वाधारतर्फ, लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय, माध्यमिक विद्यालय पडरिया थारुटोल, लेखनाथ माध्यमिक विद्यालयलगायतमा चारकोठे भवन निर्माण सम्पन्न भइसकेको र आवश्यकतानुसार अन्य विद्यालयमा पनि क्रमशः निर्माण गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले दलित तथा मुसहर विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क ट्युसन कक्षा सञ्चालनको तयारी पनि गरेको छ । माध्यमिक विद्यालय पडरिया थारुटोलका प्रधानाध्यापक मनोज यादवले नगरपालिकाको यस कदमले विद्यालयको शैक्षिक तथा भौतिक वातावरणमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । लहान नगरक्षेत्रमा जम्मा ६१ वटा सामुदायिक विद्यालय रहेका छन् ।