जुनु भट्टराई
विराटनगर, १ पुस ः कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा उपयोग गर्नेको सङ्ख्या वृद्धि हुन सकेको छैन । पछिल्ला तीन आर्थिक वर्षका तथ्याङ्कका अनुसार निः शुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी नहुँदा सेवाग्राहीको सङ्ख्या वृद्धि हुन नसकेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार आव २०७९/८०, २०८०/८१ र २०८१/८२ को अवधिमा प्रदेशभर ४८ हजार ८२२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । प्रदेशका १४ जिल्लामा यो तथ्याङ्क कम नै हो । तर अधिकारकर्मीका अनुसार महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारप्रतिको सचेतना, सेवा पहुँच र स्वास्थ्य प्रणालीप्रति बढ्दो विश्वासको सङ्केत हो ।
सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएपनि पनि सामाजिक डर, लाज र जानकारी अभावका कारण महिला जोखिमपूर्ण र अवैध गर्भपतनमा संलग्न हुनेक्रम नरोकिएको बताइएको छ । तर पछिल्ला वर्षहरूमा सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सेवा विस्तार, स्वास्थ्यकर्मीको तालिम, निःशुल्क औषधि र गोपनीयता सुनिश्चित गर्ने प्रयासले महिलालाई स्वास्थ्य संस्थासम्म ल्याउन सहयोग गरेको स्वास्थ्यकर्मी बताउँछन् । कोशी प्रदेशमा देखिएको यो प्रवृत्तिले मातृ मृत्युदर घटाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको उनीहरूको बुझाइ छ ।
प्रदेशभर सुरक्षित गर्भपतन सेवा लिनेमध्ये २० वर्षमाथिकासङ्ख्या अत्यधिक रहेको छ । तीन वर्षको अवधिमा ४५ हजार ५६५ महिला २० वर्षमाथिका छन् । तथ्याङ्कअनुसार तीन वर्षको अवधिमा मा १५ हजार ६३५ ले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार विवाहपछि परिवार पूरा भइसकेका, आर्थिक अवस्था कमजोर भएका वा स्वास्थ्य कारणले गर्भधारण निरन्तरता दिन नसक्ने महिलाले सुरक्षित गर्भपतन रोज्ने गरेका छन् । बीस वर्षमाथिका महिलामा सुरक्षित गर्भपतन सेवाको उच्च उपयोग देखिनु उनीहरू आफ्नो शरीर र प्रजनन स्वास्थ्यबारे निर्णय लिन सक्षम हुँदै गएको सङ्केत हो । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी अस्पताल नर्सिङ प्रशासक आस्था थापा भन्नुहुन्छ, “पहिले धेरै महिलाले डरका कारण असुरक्षित उपाय अपनाउने गर्थे, अहिले स्वास्थ्य संस्थामा आएर कानुनी र सुरक्षित सेवा लिन थालेका छन् ।” उहाँका अनुसार स्थानीय तहसम्म सेवा विस्तार हुनु र स्वास्थ्यकर्मीहरूले गोपनीयता कायम गर्ने अभ्यास बढ्नुले महिलाहरूको भरोसा जितेको छ ।
बीस वर्षमुनिका किशोरी तथा युवा महिलाले पनि सुरक्षित गर्भपतन सेवाको उपयोग उल्लेख्य रूपमा गरेका छन् । तीन वर्षमा तीन हजार २५७ किशोरी तथा युवा महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार किशोरी गर्भधारणको कुल सङ्ख्या अघिल्ला वर्षको तुलनामा केही घट्दो देखिए पनि गर्भपतन गर्नुपर्ने अवस्थामा उनीहरू जोखिमपूर्ण विधिभन्दा सुरक्षित प्रक्रियातर्फ आकर्षित हँुदै गएका छन् ।
कोशी अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अन्जु देव यो परिवर्तन सकारात्मक भए पनि यसलाई पर्याप्त उपलब्धि मान्न भने नमिल्ने बताउनुहुन्छ । “पहिले सामाजिक डर, बदनामीको भय र परिवारको दबाबका कारण किशोरीहरू गोप्य रूपमा असुरक्षित गर्भपतनमा जान बाध्य हुन्थे”, उहाँ भन्नुहुन्छ, “अहिले उनीहरू स्वास्थ्य संस्थासम्म आइपुग्न थालेका छन्, जुन राम्रो सङ्केत हो । तर यौन शिक्षा, गर्भनिरोधक साधनको सही जानकारी र मानसिक परामर्शबिना किशोरी गर्भपतन दीर्घकालीन रूपमा घट्दैन ।”
समान पहुँच अझै चुनौती
जिल्लागत तथ्याङ्कले कोशी प्रदेशभित्र सुरक्षित गर्भपतन सेवामा स्पष्ट असमानता देखाउँछ । सुनसरी, झापा र मोरङमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या सबैभन्दा बढी छ । यी तीन जिल्लाले हरेक वर्ष प्रदेशको कुल सेवा उपयोगकर्तामध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटिरहेका छन् । सुनसरीमा मात्र आव २०७९÷८० मा तीन हजार ९९०, २०८०÷८१ मा तीन हजार ९४१ र २०८१÷८२ मा तीन हजार ७५४ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार यी जिल्लामा ठूला सरकारी तथा निजी अस्पताल, विशेषज्ञ चिकित्सकको उपलब्धता, यातायातको सहजता र सूचना पहुँच राम्रो भएकाले सेवा उपयोग बढी देखिएको हो । महिलाहरू स्वास्थ्य संस्थासम्म सजिलै पुग्न सक्ने भएकाले पनि जोखिमपूर्ण उपाय रोज्ने सम्भावना कम भएको स्वास्थ्यकर्मी बताउँछन् ।
प्रदेशका दुर्गम पहाडी जिल्लामा अवस्था भने फरक छ । ओखलढुङ्गा, खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाजस्ता जिल्लामा सुरक्षित गर्भपतन सेवाको पहँुच निकै सीमित देखिन्छ । ओखलढुङ्गामा आव २०७९/८० मा ४६, २०८०/८१ मा ७९ र २०८१/८२ मा ११२ महिलाले मात्र सुरक्षित गर्भपतन सेवा लिएका छन् । अन्य दुर्गम जिल्लामा पनि अवस्था लगभग उस्तै रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाउँछ ।
मोरङ सहकारी अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा बालकृष्ण साह भन्नुहुन्छ, “दुर्गम जिल्लामा सेवा कम हुनुको मुख्य कारण भौगोलिक कठिनाइ, आर्थिक अवस्था र सामाजिक सोच हो । “धेरै महिलाले गर्भपतनलाई अझै पनि लाज र अपराधसँग जोडेर हेर्छन्”, उहाँ बताउनुहुन्छ, “स्वास्थ्य संस्था टाढा हुँदा र खर्च बढ्दा उनीहरू अन्तिम समयमा मात्र अस्पताल आउँछन्, जसले स्वास्थ्य जोखिम बढाउँछ ।”
उहाँका अनुसार सुरक्षित गर्भपतन सेवा विस्तारसँगै समुदायस्तरमा चेतना अभिवृद्धि, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता र किशोरीमैत्री स्वास्थ्य सेवा विकास अपरिहार्य छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी नर्सिङ प्रशासक आस्था थापा पनि समान पहँुच नै आगामी दिनको मुख्य चुनौती भएको बताउनुहुन्छ । “अब हाम्रो ध्यान सङ्ख्या बढाउनुमा होइन, सबै जिल्लामा समान र गुणस्तरीय सेवा पुर्याउन केन्द्रित हुनुपर्छ”, उहाँको भनाइ छ ।
तीन वर्षको तथ्याङ्कले कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा महिलाको स्वास्थ्य सुरक्षाको महत्त्वपूर्ण आधार बन्दै गएको देखाउँछ । तर विज्ञहरूका अनुसार सुरक्षित गर्भपतन सेवा उपलब्ध हुनुमात्र पर्याप्त होइन । यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, गर्भनिरोधक साधनको सहज पहुँच, मानसिक सहयोग र सामाजिक सोचमा परिवर्तनबिना अनिच्छित गर्भधारण र त्यसबाट उत्पन्न समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्दैन । कोशी प्रदेशको अनुभवले सुरक्षित सेवा विस्तारसँगै रोकथाममुखी नीति कति आवश्यक छ भन्ने स्पष्ट सन्देश दिएको छ ।
‘सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा’ भन्ने नारालाई सार्थक बनाउन सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन आग्रह गरिरहेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भन्नुभयो, “साझेदारहरूका सहकार्यमा महिलाको प्रजनन स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न सुरक्षित गर्भपतन सेवामा लक्षित वर्गको सहज पहुँच, गुणस्तरीय सेवा र यसको स्वीकार्यता देशभर विस्तार गर्न सरकार निरन्तर प्रतिबद्ध छ ।” उहाँका अनुसार हाल दुई हजार ८२७ सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा निःशुल्क प्रवाह भइरहेको छ ।
उहाँले भन्नुभयो, “असुरक्षित गर्भपतनका कारण हुने मातृ मृत्युदर घटाउँदै महिलाको स्वास्थ्य र जीवन बचाउन सबैलाई सुरक्षित र सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन आग्रह गर्दछौँ ।”
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको एक अध्ययनका अनुसार नेपालमा हुने करिब ५२ प्रतिशत गर्भपतन असुरक्षित छन् । अझै पनि सूचीकृत स्वास्थ्य संस्थाबाट भन्दा असुरक्षित र औषधि पसलबाट अनधिकृत औषधि खाएर असुरक्षित गर्भपतनमा कमी आएको छैन ।
महाशाखाका अनुसार गर्भ रहेको १० हप्ताभित्रको औषधिको प्रयोगद्वारा गरिने गर्भपतन सेवाका लागि सूचीकृत स्वास्थ्य संस्था एक हजार ६८६ र सूचीकृत स्वास्थ्यकर्मी चार हजार २५८ छन् भने १० हप्ताभित्रको औषधिको प्रयोग र उपकरणको सहायताले गरिने सेवाका लागि सूचीकृत स्वास्थ्य संस्था ७२७ र सूचीकृत स्वास्थ्यकर्मी एक हजार ४२२ छन् । त्यसैगरी, गर्भ रहेको १२ हप्तासम्मको उपकरणद्वारा गरिने सेवाका लागि सूचीकृत स्वास्थ्य संस्था ३५१, सूचीकृत स्वास्थ्यकर्मी दुई हजार ८६०, गर्भ रहेको १२ हप्ताभन्दा माथि २८ हप्तासम्मको सेवाका लागि सूचीकृत स्वास्थ्य संस्था ६३ र सूचीकृत स्वास्थ्यकर्मी १५२ भन्दा बढी छन् ।
सुनौलो परिवार नेपालका प्रबन्धक कुमार आचार्यले भन्नुहुन्छ, “दक्ष स्वास्थ्यकर्मी नभएका अनधिकृत क्लिनिकहरूले प्रदान गरेका सेवा असुरक्षित हुने भएकाले त्यस्ता क्लिनिकहरूको निरीक्षण र अनुगमनलाई प्रभावकारी बनाउनु जरुरी छ । सुरक्षित गर्भपतन सेवामा पहुँच वृद्धि गर्न असुरक्षित गर्भपतनलाई निरुत्साहन गर्न आवश्यक छ ।” यसका लागि संस्थाले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा विभिन्न जिल्लामा तालिम सञ्चालन एवं ११४३ हटलाइन टेलिफान सेवा सञ्चालन गरिराखेको जनाएको छ । परिवार व्यवस्थापन र सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी दिन सो हटलाइन सेवा अत्यन्त प्रभावकारी रहेको बताइएको छ ।
सोही संस्थाद्वारा हाल विभिन्न १८ जिल्लामा सञ्चालित २२ ‘मेरी स्टोप्स् सेन्टर’हरूले सुरक्षित गर्भपतन सेवाका साथै परिवार योजना र महिलाहरूको महिनावारी सुरु भएदेखि बन्द नहुन्जेलसम्मका सम्पूर्ण प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आइरहेको जनाइएको छ ।
प्रबन्धक आचार्यका अनुसार सेवा प्रदान गरिएका ती स्थानमा कोशीको (बिर्तामोड, विराटनगर, इटहरी), मधेस (वीरगञ्ज, लहान, लालबन्दी), बागमती (चुच्चेपाटी, गोङ्गबु, पुतलीसडक, सातदोबाटो, नारायणगढ), लुम्बिनीको (बर्दघाट, भैरहवा, बुटवल, चन्द्रौटा, दाङ, कोहलपुर र तौलिहवा), गण्डकीको (डुम्रे र पोखरा) कर्णालीको (सुर्खेत) सुदूरपश्चिमको अत्तरिया छन् ।