मंसिर २९, २०८२ सोमबार

सिन्धुली, २९ मङ्सिर : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताउनुभएको छ । आज बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफूहरू निर्वाचनको पक्षमा भए पनि सरकार र राजनीतिक दलबीच गहन वार्ता हुन नसकेको बताउनुभयो । 

नेता नेपालले भन्नुभयो, “सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने र निर्वाचनको वातावरण बिथोलेको छ भन्न पनि नमिल्ने अवस्था रहेको छ ।” आफूहरू चुनावको तयारीमा जुटिरहेको र यद्यपी सरकार र राजनीतिक दलहरूबीचको संवाद पर्याप्त नभएको उहाँको टिप्पणी थियो ।

जेनजी आन्दोलनपछि नेपालमा राजनीतिक दलहरूको समर्थनमा जनता छैनन् भन्ने गलत भाष्य निर्माण गरिए पनि पछिल्ला राजनीतिक दलहरूको कार्यक्रमले त्यो भाष्यलाई पुष्टि नगरेको उहाँको भनाइ छ । नेपाली जनता सधैँ राजनीतिक आस्थामा रहेको भन्दै उहाँले निर्वाचन गर्नका निम्ति सरकारले दलहरूसँग संवाद गर्न जरुरी रहेको बताउनुभयो । वर्तमान अवस्थामा चुनावमा नै देश जाला त ? भन्ने प्रश्न खडा भएको छ उहाँले भन्नुभयो ।