मंसिर १८, २०८२ बिहिबार

नारायण न्यौपाने

काठमाडौँ, १८ मङ्सिरः सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले सुनौला जुनार/सुन्तलाले पहेँलपुर भएको छ । किसानले जुनार र सुन्तलालाई मुख्य बालीका रूपमा बढाएपछि त्यस क्षेत्रका बगैँचामा अहिले लटरम्म जुनार/सुन्तला फलेका छन् ।
 
    परम्परागत बाली धान, मकै, कोदो, गहुँ र आलुको तुलनामा दश गुणा बढीसम्म आम्दानी भएपछि जुनार खेती सबै किसानको रोजाइमा परेको छ । किसानको उत्पादनको प्रचारप्रसार र विश्व बजारसम्म पहुँच विस्तार गर्न स्थानीय सरकारले पछिल्ला वर्ष ‘जुनार महोत्सव’ गर्दै आएका छन् ।

    यसवर्ष पनि जिल्लाको पहिचान र गोलञ्जोरको गौरवका रूपमा रहेको जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन यही मङ्सिर २३ देखि २५ सम्म गोलन्जोर गाउँपालिका–४ तीनकन्या माझकुभिण्डेमा महोत्सव गर्न लागिएको छ ।
 
    गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले सिन्धुलीको पहिचानका रूपमा रहेको जुनारखेती अहिले गोलञ्जोरको गौरव बनिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जुनारको प्रवर्द्धन, क्षेत्रविस्तार, बजारीकरण, गुणस्तर तथा देश विदेशमा प्रचारप्रसार पु¥याउने यस वर्षको महोत्सवको उद्देश्य हो ।”

    जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको भनाइ छ । गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ । सरकारी आँकडा अनुसार यहाँबाट गत आर्थिक वर्ष २०८१÷८२ मा करिब रु ३४ करोडको जुनार बिक्री भएको छ ।

    किसानले आफ्नै घर आँगनको बगैँचामा प्रतिकिलो रु ५० देखि ६० सम्ममा बिक्री गर्दै आएको जुनार बजरमा प्रतिकिलो रु ८० देखि १०० मा उपभोक्ताले खरिद गर्दै आएका छन् ।

    गोलञ्जोर गाउँपालिकाको कृषि विकास शाखा कार्यालयका प्रमुख चन्द्रकान्त चौधरीले भन्नुभयो, “पालिकको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा यस पालिकाबाट रु ३४ करोड १९ लाख ९० हजार बराबरको जुनार बिक्री भएको छ । जिल्लाबाट समग्रमा रु ३६ करोड ६४ लाख १० हजारको कारोबार देखिन्छ । जिल्लामा जुनार उत्पादनको सम्भावना बढी छ, त्यसैअनुसार क्षेत्र विस्तारको काम पनि भइरहेको छ ।”

    जिल्ला जुनार सहकारी सङ्घले भने सरकारी तथ्याङ्कभन्दा दोब्बर अर्थात् करिब रु ७५ करोड मूल्य बराबरको वार्षिक कारोबार हुने जनाएको छ । सिन्धुलीमा जुनारखेती पहिलेदेखि हुँदै आएको छ । जिल्लाभरमा एक हजार १०० हेक्टरमा जुनारखेती गरिन्छ ।
    
    व्यावसायिक जुनारखेती ७५० हेक्टर क्षेत्रफलमा छ । हावापानीका हिसाबले गोलञ्जोरका सात वटै वडामा जुनार उत्पादन हुन्छ । गोलञ्जोरमा मात्र एक हजार हेक्टरमा जुनारखेती भइरहेको छ । व्यावसायिक खेती भने करिब ७०० हेक्टरमा भइरहेको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

    कार्यालय प्रमुख चौधरीले भन्नुभयो, “उत्पादकत्व प्रतिहेक्टर १३ दशमलव शून्य तीन छ । गाँउपालिकामा मात्रै गत आर्थिक वर्षमा नौ हजार १२१ मेट्रिकटन जुनार उत्पादन भएको थियो । उत्पादनको करिब २१ प्रतिशत रोग तथा किराबाट नष्ट हुने तथा कोसेलीका रूपमा बाँडिने गरिएको छ ।

    गतवर्ष रु ५५ हजार प्रतिमेट्रिकटनका दरले जुनार बिक्री भएको थियो । बेलाबखत जुनारमा विभिन्न रोग तथा किराको सङ्क्रमणका कारण समस्या देखिने गरेको छ । विगतमा जुनारमा लाग्ने औँसाले किसानलाई ठूलो नोक्सानी पु¥याएको जनाउँदै सरकारको ठूलो लगानी र प्रयासमा त्यसको नियन्त्रण गरेको चौधरीले बताउनुभयो ।

    पछिल्ला वर्ष फेरी सुडेपुतलीको समस्या किसानले झेल्नु परेको छ । उक्त पुतलीले फलमा गुलियोपन आउना साथ सुडले रस चुस्ने र त्यसपछि कुहिने समस्या हुने गर्दछ । पुतलीको समस्या नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेका छन् ।

    ढुसीजन्य रोगले पनि जुनार किसानलाई हैरान पारेको छ । अर्कातर्फ जलवायु परिवर्तनको असरले एक हजारदेखि एक हजार २०० मिटर उचाइसम्मका जुनार तथा सुन्ताका बोट सुक्दै गएका छन् ।

    बजारीकरणको समस्या छ । किसानले कम मूल्य पाउने तथा उपभोक्ताले बढी पैसा तिरेर खानुपर्ने समस्या पनि उत्तिकै छ । ठूला व्यावसायिक बगैँचा भएका किसानले सिधै बगँैचाबाट सजिलै बेच्न सकिने हुँदा एकमुष्ट पैसा प्राप्त भएपछि किसान खुसी छन् ।

    निरन्तर देखिँदै आएका रोगकिराको सङ्क्रमण, विभिन्न रोग नियन्त्रण र बजार लैजाने पहुँच मार्ग कालोपत्र किसानको पहिलो सर्त छ । त्यस क्षेत्रमा व्यवस्थित सडक भएको खण्डमा कृषि पर्यटन विकास र विस्तारको ठूलो सम्भावना छ ।

    सिन्धुलीमा उत्पादित जुनार काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर, सिरहा, पाँचथर, नारायणगढ, विराटनगर, झापा मात्र नभई सीमा क्षेत्रका भारतीय बजारसम्म पुग्ने गरेको छ । ‘सुपरजोन’ कार्यालयमार्फत जुनार÷सुन्तला किसानले तालिम, नर्सरी सुधार, सिँचाइ, बगैँचा विस्तार, यान्त्रीकरणका लागि सहयोग पाइरहेका छन् ।

    गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जुनार किसानका लागि सडक र बजारीकरण मुख्य समस्याका रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि सडक कालोपत्र गर्न प्रदेश र सङ्घीय सरकारले सहयोग गर्दैन, पालिकाको बजेटबाट सम्भव भएन । सडकलाई केन्द्रित गरी प्रचारप्रसार गर्ने महोत्सवको लक्ष्य हो ।”

    उपाध्यक्ष न्यौपानेले स्थानीय धापचौकीबाट बाहुनतिल्पुङसम्मको महाभारत क्षेत्रको कृषि सडक कोरिडोरलाई कालोपत्रका लागि सहयोगको अपेक्षा गरिएको बताउनुभयो । सिन्धुलीको महाभारत क्षेत्रका युवालाई जुनार÷सुन्तलाखेतीले केही हदसम्म रोजगारी प्रदान गरेको छ । एक जना किसानको बगैँचामा एक हजार ७०० सम्म जुनारका बोट छन् ।  एउटा बोटबाट अधिकतम रु २१ हजारसम्मको फल बिक्री भएको तथ्याङ्क छ ।

    पछिल्लो समय टाढा–टाढाबाट जुनार÷सुन्तला खेती हेर्न र यससम्बन्धी अध्ययन गर्ने आउनेको सङ्ख्या बढेसँगै ग्रामीण पर्यटन प्रवर्द्धनको सम्भावनासमेत बढेको छ । गोलञ्जोरमा उत्पादन भएका जुनारका कारण फलफूल व्यापारी र अन्य व्यवासायीको पनि आर्थिक उन्नति देखिएको छ ।

    जुनार गुणस्तरका हिसाबले टिप्ने मौसम मङ्सिर–पुस भए पनि कात्तिकदेखि फागुनसम्म बोटमा रहने फल हो । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण  विगतमा कम उचाइमा फल्ने यो फलले अग्गो ठाँउतिर सर्दै गएको छ ।

    जिल्ला जुनार सहकारी सङ्घका अध्यक्ष निर्मल रम्तेलले यही मङ्सिर २३–२५ गते हुने यसवर्षको महोत्सव सिन्धुलीको जुनारलाई चिनाउने र प्रवर्द्धन गर्ने उद्देश्यले राखिएको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “यो वर्षको उत्पादन नौ हजार ५०० मेट्रिकटन हुने अनुमान छ । त्यो भनेको करिब रु ८५ करोड बराबरको जुनार–सुन्तला हो । उत्पादितमध्ये करिब १५ प्रतिशत कोसेलीमा जान्छ । पछिल्लो समय जुनारको क्षेत्र विस्तार र मूल्य बढदै गएको छ ।”

    जुनारखेती प्रवर्द्धनका लागि प्रविधि हस्तान्तरण र चिसान केन्द्र निर्माण भइरहेको छ । जुनारबाट जुसलगायत २१ प्रकारका परिकार बन्छन् । जुनार बगैँचाबाट उठाउँदा थोक मूल्य रु ६५ प्रतिकिलो पाइने जानकारी दिँदै अध्यक्ष रम्तेलले भन्नुभयो, “उपभोक्ताले उपभोक्ताले त्यही जुनार बजार पुगेपछि रु १०० तिरेर लिनुपर्ने अवस्था छ, यो बीचको ‘मार्जेन’लाई घटाउनुपर्ने छ ।”

    पछिल्लो समय जलवायु परिवर्तन असरका कारण हुन सक्छ फल लाग्ने र गुणस्तर कायम गर्ने सवालमा उचाइले गडबड गरेको उहाँको भनाइ छ । अहिले आठ सयदेखि एक हजार मिटरसम्मको उचाइमा लागेका दाना दसैँतिहारमा खानयोग्य हुन्छन् भने त्यो भन्दामाथिको मङ्सिर, पुस र माघसम्म रहन्छन् । रुखबाट टिपेर चिस्यान केन्द्रमा राखेको जुनार सुन्तला वैशाखसम्म रहन्छन् ।

    सिन्धुलीमा नयाँ प्रविधियुक्त करिब १५ वटा चिस्यान केन्द्र छन् । ती सबैमा गरी करिब एक हजार २०० मेट्रिकटन जुनार भण्डारण गरेर राख्न सकिन्छ । अहिले सिन्धुलीको महाभारत क्षेत्रमा जुनारबारे जानकारी लिन, बगैँचामै पुगेर आफ्नै हातले टिपेर खानेको सङ्ख्या प्रतिदिन बढोत्तरी भएसँगै आन्तरिक ग्रामीण पर्यटन प्रवद्र्धनको सम्भावना बढेको छ । 

    अध्यक्ष रम्तेलले भन्नुभयो, “कृषि क्षेत्रको विकास र विस्तारका लागि पनि बाटो र बिजुली सबैभन्दा महत्वपूर्ण छ । यहाँ जुनार सुन्तलाको गुणस्तर राम्रो भएकाले बजारसम्म पहुँच विस्तारका लागि सडक, नवीनतम् प्रविधि हस्तान्तरण, विश्व बजारसम्म पु¥याउने वातावरण बनाइनुपर्छ ।”

    देशकै पहिचान बोकेको महत्वपूर्ण फलका रूपमा जुनारको विकास र विस्तार भइरहेकाले अन्तरराष्ट्रिय बजारमा पु¥याउने वातावरण बनाइदिन सरकारसँग माग गर्दै किसानले जिल्लामै जुनार अनुसन्धान केन्द्र स्थापना गरी रोगकिरा नियन्त्रण र ज्ञान सिकाउने वातावरण बनाउन ध्यानाकर्षण गराउँदै आएका छन् ।

    जुनार खेतीप्रति युवाको आकर्षण बढेकाले एक जना कृषक परिवारले वार्षिक रूपमा पाँच लाख देखि ३० लाखसम्म आम्दानी गर्दै आएका छन् । त्यस्ता किसानले जुनार बेचेरै काठमाडौँमा घर बनाएका मात्र होइन, ठूलो रकम लगानी गरी सन्ततिलाई डाक्टर र इञ्जिनियरिङ पढाउने सफलता मिलेको छ ।