मंसिर १८, २०८२ बिहिबार

गलकोट (बागलुङ), १८ मङ्सिरः आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जिल्लामा एक मतदानस्थल थप गर्न र  दुई मतदानस्थल स्थानान्तरणका लागि सिफारिस गरिएको छ ।

    जिल्ला निर्वाचन कार्यालयकाअनुसार मतदाताको बढ्दो सङ्ख्या, भौगोलिक चुनौती र पिछडिएका बस्तीमा पहुँच सहज बनाउन नयाँ मतदानस्थल थप तथा मतदानस्थल सार्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको हो । 

    जिल्ला निर्वाचन कार्यालय प्रमुख यज्ञ रिजालले गलकोट नगरपालिका–११ रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाबाट आंशिक मतदाता सारेर मनेवा आधारभूत विद्यालयलाई मतदानस्थलका रूपमा थप गर्न सिफारिस गरिएको बताउनुभयो । 

    रिघामा हाल रहेका दुई हजार ८०० मतदातामध्ये एक हजार १९० मतदातालाई मनेवा आविमा ल्याएर मतदानस्थलको रूपमा कायम गर्न सिफारिस गरिएको रिजालको भनाइ छ ।

    त्यसैगरी बागलुङ नगरपालिकाको एक मतदानस्थल र बडिगाड गाउँपालिकाको एक मतदानस्थललाई पूर्वाधारको अभाव तथा भौगोलिक चुनौतीका कारण स्थानान्तरण सिफारिस गरिएको जनाइएको छ । बागलुङ नगरपालिका–८ सिगानाको मतदानस्थल र बडिगाड गाउँपालिका–१० को मतदानस्थललाई पायक पर्ने स्थानमा स्थानान्तरण गर्न लागिएको हो । 

    बागलुङ नगरपालिका–८ सिगाना वडाकार्यालयको मतदान केन्द्रलाई सिगाना स्वास्थ्य चौकीमा सार्ने योजना बनाइएको छ । वडा कार्यालयमा मतदानस्थल साँघुरो भएकाले सार्ने सिफारिस गरिएको हो । बडिगाड गाउँपालिका–१० साविकको वडा कार्यालयमा भएको मतदानस्थल रनामस्थित नयाँ वडा कार्यालयमा सार्न सिफारिस गरिएको निर्वाचन कार्यालय प्रमुख यज्ञ रिजालले बताउनुभयो । 

    सिफारिस गरिएको नयाँ मतदानस्थल र स्थानान्तरणको विषयमा आयोगको निर्णय भने आउन बाँकी छ ।  सिफारिस गरिएको मतदानस्थल स्वीकृत भएमा यस अघिको निर्वाचनमा १०६ मतदातस्थल रहेको जिल्लामा जिल्लामा १०७ मतदानस्थल हुनेछ । गत निर्वाचनमा २३१ मतदान केन्द्र थिए भने बढेको मतदाता सङ्ख्याको आधारमा आयोगले केन्द्रसमेत थपेर पठाउनेछ । 

    जिल्लामा यस अघि एक लाख ८९ हजार १७३ जना मतदाता रहेकामा हाल पाँच हजार ९९३ मतदाता थपिएका छन् ।