मंसिर १८, २०८२ बिहिबार

गोदावरी (कैलाली), १८ मङ्सिरः बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ ।

पालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार चालु आर्थिक वर्षमा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाउँदा भवन अधुरो छ । निर्माण कम्पनीलाई रु ३५ लाख भुक्तानी दिन बाँकी छ । भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र भएको छ । 

पालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ । प्रत्येक पालिकामा १० श्ययाको अस्पताल बनाउने सरकारको कार्यक्रमअनुसार उक्त भवन निर्माण प्रारम्भ भएको हो । 

यसैगरी, जिल्लाको लम्कीचुहा नगरपालिका–१० चुहामा निर्माणाधीन ५० श्ययाको सामुदायिक अस्पताल भवन पनि अलपत्र छ । निर्माण कम्पनीले भुक्तानी नपाएपछ काम रोकिएको हो । दुई वर्षदेखि रोकिएको काम पुनः प्रारम्भ गर्न सम्बन्धित निकाय अग्रसर नहुँदा स्थानीय चिन्तित छन् ।