मंसिर १८, २०८२ बिहिबार

काठमाडौँ, १८ मङ्सिरः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हाम्रा पर्वले विधायन, निगरानी र प्रतिपक्षी भूमिकाको सम्मानसहित चल्ने सक्रिय र उत्तरदायी संसद्कै माध्यमबाट मात्र समृद्ध राष्ट्र निर्मितको लक्ष्यलाई वास्तविकतामा बदल्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको शुभकामना व्यक्त गर्दै यस्तो बताउनुभएको हो ।  
    
    शुभकामना सन्देशमा भनिएको छ, “संविधानले परिकल्पना गरेको दुई सदनको व्यवस्थाअनुसार प्रतिनिधिसभा नरहेको वर्तमान अवस्थामा राष्ट्रियसभाको भूमिकालाई अझ मजबुत, सक्रिय र परिणाममुखी बनाउने अवस्था रहेको छ । राष्ट्रियसभालाई नीतिगत छलफल, कानुनी संरचनाको सूक्ष्म परीक्षण, दीर्घकालीन रणनीति निर्माण तथा सुशासनको प्रत्याभूतिको संस्थागत थलोका रूपमा सुदृढ गर्दै संसद्को सर्वोच्चता कायम राख्नु अहिलेको अत्यावश्यक राष्ट्रिय आवश्यकता बनेको छ । यो पर्वले त्यसमा पनि प्रेरणा दिने विश्वास छ ।”

    राई, लिम्बू, सुनुवार र याख्खा समुदायको मूल सांस्कृतिक पहिचान बोकेको उधौली पर्व मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधिहरूसहित मनाइने गर्दछ । उपाध्यक्ष घिमिरेले भन्नुभएको छ, “प्राकृतिक चक्रसँग आत्मसात् भई मनाइने यस उधौली पर्वले हामी सबैमा उत्पादकता, दिगोपन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढ्ने प्रेरणा जगाओस् भन्ने हार्दिक कामना गर्दछु ।”