मंसिर १८, २०८२ बिहिबार

काठमाडौँ, १८ मङ्सिरः  उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताउनुभएको छ । किराँत समुदायको चाड उधौली पर्व, नेवार समुदायको यःमरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिने क्रममा यस्तो बताउनुभएको हो । 

उपसभामुख रानाले भन्नुभएको छ, “सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई सम्मानपूर्वक मनाउने मौलिक हक सुनिश्चित गरेको छ । संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानयुक्त समृद्ध राष्ट्रका रूपमा व्याख्या गरेको छ । सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई सम्मानपूर्वक मनाउने मौलिक हक सुनिश्चित गरेको छ, यही विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति हो ।” 

    उहाँले वर्तमान राष्ट्रिय परिस्थितिले हामी सबैलाई लोकतान्त्रिक मूल्य–मान्यता, विधिसम्मत शासन र उत्तरदायी संस्थाहरूलाई अझ मजबुत बनाउन आह्वान गरिरहेको उल्लेख गर्नुभएको छ । त्यसका लागि जनताले देखाएको विश्वासलाई निरन्तरता दिन सबै जिम्मेवार ढङ्गले अघि बढ्नु अहिले सबैको कर्तव्य भएको पनि बताउनुभयो । 
उपसभामुख रानाले भन्नुभयो,“त्यसका लागि संसद् देशको नीति–निर्देशन, जनताको आवाज प्रतिनिधित्व, संविधान र कानुनको रक्षा तथा सुशासन निर्माणको केन्द्रविन्दु हो । संसद्ले सञ्चालन गर्ने विधायन, नीतिनिर्माण तथा संसदीय अनुगमनका कार्यमा अब जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्छ । आगामी निर्वाचन लोकतन्त्रको मर्म र राष्ट्रको भविष्य निर्माण गर्ने महत्वपूर्ण क्षण भएकाले सबै योग्य नागरिकसँग शान्तिपूर्ण, मर्यादित र उत्साहपूर्ण तरिकाले लोकतान्त्रिक अभ्यासमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न मेरो अनुरोध छ ।” 

    कृषि प्रणालीमा आधारित उधौली पर्व प्रकृतिपूजक किराँत समुदायले अन्नबाली भित्र्याइएको खुसियालीका साथ मनाइने समुन्नत सांस्कृतिक पर्व हो । खेतबाली पाकेपछि इष्टदेवी–देवतामा आहुति अर्पण गर्ने, पितृको स्मरण गर्ने र समुदायिक मेलमिलाप विस्तार गर्ने परम्परा यस पर्वको मौलिक विशेषता हो । 

    यसैगरी, नेवार समुदायको यःमरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवस पनि नयाँ अन्न भित्र्याइएका खुसीका साथ कृषि–संस्कृतिमै आधारित महत्वपूर्ण चाडपर्वका रूपमा मनाइन्छ । यी सबै पर्वहरूले परिश्रम, प्रकृतिप्रेम, सामूहिकता र सांस्कृतिक पहिचानप्रतिको गर्वलाई अझ बलियो बनाउँछन् ।

    उहाँले भन्नुभएको छ, “किराँत समुदायको उधौली पर्व, नेवार समुदायको यःमरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवसले प्रतिवर्ष हामीमा सहिष्णुता, एकता र समृद्धिको भावना जागृत गरिरहन्छन्, यी सबै पर्वहरूले हामीलाई प्रकृतिप्रेम, परिश्रमको सम्मान र साझा पहिचानप्रतिको गर्वमा एकताबद्ध गरून् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।”