मंसिर १७, २०८२ बुधबार

दोहा, १७ मङ्सिर: यही डिसेम्बर ६ मा उद्घाटन हुँदै गरेको दोहा फोरमको २३औँ संस्करणका लागि नयाँ वक्ताहरू, साझेदार संस्थाहरू तथा प्रमुख सत्रहरू औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

    कतारका अमिर शेख तमिम बिन हमद अल थानीको संरक्षणमा आयोजना हुन लागेको यस वर्षको फोरमले विश्वका राष्ट्र प्रमुख, नीतिनिर्माता तथा अग्रणी विज्ञहरूलाई समसामयिक जटिल अन्तर्राष्ट्रिय चुनौतीमा केन्द्रित संवादका लागि एक थलोमा ल्याउने फोरमले एक विज्ञप्ति जारी गरी बताएको छ ।

    विश्वले तीव्र भूराजनीतिक तनाव, बढ्दो मानवीय सङ्कट तथा द्रुत प्राविधिक परिवर्तनको सामना गरिरहेको समयविन्दुमा दोहा फोरम भेला हुँदैछ । फोरमका कार्यकारी निर्देशक मुबारक अजलान अल–कुवारीका अनुसार ओभरल्यापिङ सङ्कटले ग्रस्त विश्वमा निष्पक्ष, जवाफदेही र सामूहिक शासनको आवश्यकता झनै बढेको छ र दोहा फोरमले कूटनीति, विकास तथा मानवीय कार्यबीचको प्रभावकारी सहकार्यलाई विश्लेषण गर्ने अग्रणी मञ्चको भूमिका निर्वाह गर्दै आएको छ ।

    यस पटकको फोरममा राज्य तथा सरकारका प्रमुखदेखि वरिष्ठ मन्त्री र विश्वस्तरीय नीति नेतासम्मका विशिष्ट वक्ताहरू सहभागी हुने पनि फोरमको विज्ञप्तिमा उल्लेख छ । तीमध्ये घाना गणराज्यका राष्ट्रपति जोन ड्रमानी महामा, सिरियाका राष्ट्रपति अहमद अल–सारा, कतारका प्रधानमन्त्री तथा विदेश मामिलामन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी, लेबनानका प्रधानमन्त्री नवाफ सलाम, इराकको कुर्दिस्तान क्षेत्रका राष्ट्रपति निचिरभान इद्रिस बारजानी, टर्की, स्पेन, नाइजेरिया, लाइबेरिया र ग्रिसका विदेशमन्त्रीहरू, विश्व आर्थिक फोरमका अध्यक्ष बोर्ज ब्रेन्डे, संयुक्त राज्य अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन तथा गेट्स फाउन्डेशनका अध्यक्ष बिल गेट्सजस्ता चिन्तनशील व्यक्तित्वहरू प्रमुख रूपमा समावेश हुनुहुन्छ ।

    प्रमुख अन्तर्राष्ट्रिय थिङ्कट्याङ्कसँगको सहकार्यमा तयार पारिएको २०२५ को कार्यक्रमले महत्त्वपूर्ण विषयगत सत्रहरू प्रस्तुत गर्नेछ । गाजा सङ्कट र दीर्घकालीन स्थिरीकरणका लागि क्षेत्रीय तथा विश्वव्यापी भूमिकाको मूल्याङ्कन, खाडी–युरोपेली सङ्घ (इयु) सम्बन्धको पुनर्विश्लेषण, स्वास्थ्य वित्तपोषणमा अवरोध र रणनीतिक साझेदारी, एआईको सैन्य क्षेत्रमा जिम्मेवार प्रयोग तथा परिवर्तनशील विश्वव्यवस्थामा युएस–चीन प्रतिस्पर्धाका प्रभावजस्ता विषयमा विस्तृत छलफल हुनेछ ।

    यी सत्रहरूले दोहा फोरमले विगतदेखि अघि सारेको रणनीतिक संवाद, विश्वव्यापी साझेदारी र कार्यान्वयन योग्य निष्कर्षलाई प्रोत्साहित गर्ने भूमिकालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको बताइएको छ । सन् २०२५ को संस्करणमा १५० भन्दा बढी मुलुकबाट छ हजार सहभागी उपस्थित हुने अनुमान छ, जसले फोरमलाई अन्तर्राष्ट्रिय संवाद र बहुपक्षीय सहकार्यका प्रमुख मञ्चमध्ये एकका रूपमा पुष्टि गर्नेछ ।

    अखण्डता, समावेशिता र नवप्रवर्तनका मूल्यमा आधारित दोहा फोरमले विश्वका चुनौतीहरू समाधान गर्न खुला संवाद, विविध दृष्टिकोण र आपसी समझदारीलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ ।