संयुक्त राष्ट्र, १७ मङ्सिर: गाजाका पाँचै प्रशासनिक क्षेत्रमा जारी आक्रमणका बीच, संयुक्त राष्ट्रसङ्घका मानवीय निकायहरूले गाजा सहरमा घाइतेहरूको उद्धारका लागि नागरिक सुरक्षा टोलीबाट आएको आपत्कालीन आह्वानमा तुरुन्तै प्रतिक्रिया जनाएर सहयोग गरेको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवीय कार्यसमन्वय कार्यालयका अनुसार तुफाह क्षेत्रमा सोमबार प्राप्त आपत्कालीन खबरपछि उद्धार टोलीहरूले घाइतेलाई सुरक्षित स्थानमा पु¥याएका थिए । आह्वानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
विश्व स्वास्थ्य सङ्गठनले आफ्नो टोलीमार्फत १८ बिरामी र तिनका ५४ साथीसहित उपचारका लागि गाजाबाट बाहिर निकासी गरिएको जानकारी दिएको छ । संस्थाका अनुसार गाजामा अहिले पनि १६ हजार ५०० भन्दा बढी बिरामीलाई त्यहाँ उपलब्ध नभएको जीवनरक्षक उपचार अत्यावश्यक छ ।
जाडो नजिकिँदै जाँदा, गाजामा बालबालिकासहित अत्यन्त पीडित जनताका लागि सहयोग विस्तार गर्न मानवीय समुदायले प्रयास तीव्र पारेको छ ।
गत दुई महिनामा, मानवीय साझेदार संस्थाहरूले जाडोको तयारीका लागि आवश्यक सामग्री दसौँ हजारको सङ्ख्यामा वितरण गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले सबै उपलब्ध सीमा नाका र मार्ग खोल्न पुनः आग्रह गर्दै बिरामीलाई पश्चिम किनारामा उपचार लिन दिनुपर्ने तथा अन्तर्राष्ट्रिय आपत्कालीन स्वास्थ्य टोलीलाई गाजामा निर्बाध प्रवेश गराउनुपर्ने आवश्यकता जोड दिएको छ ।
पश्चिम किनारामा भने तुबास र जेनिन क्षेत्रमा हालै इस्रायली सैन्य गतिविधि बढेकाले स्थानीय समुदायमा विस्थापन, असुरक्षा, पानी आपूर्ति सञ्जालको क्षति र व्यवसायिक संरचनाहरू बन्द हुनेजस्ता समस्या बढेको ओसीएचएले जनाएको छ ।
संस्थाका अनुसार पछिल्ला दुई दिनमै झन्डै दुई दर्जन प्यालेस्टिनी परिवार जबरजस्ती घरबाट हटाइएका छन्, ती घरहरूलाई सैन्य निगरानी चौकीका रूपमा प्रयोग गरिएको छ ।