मंसिर १, २०८२ सोमबार

तेल अभिभ (इजरायल), १ मङ्सिर: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा असहमति जनाउँदै आफूले यस्तो पहललाई दृढ रूपमा रोक्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । 

    यसैबीच, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजासम्बन्धी अमेरिकाद्वारा तयार पारिएको प्रस्तावमा मतदान गर्नुपर्ने समय नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय कूटनीतिक चहल–पहल तीव्र बनेको छ । प्रस्तावले प्यालेस्टिनी आत्मनिर्णयको सम्भावनालाई खुला राखेकाले यसको राजनीतिक महत्त्व झनै बढेको छ ।

    नेतान्याहुले वर्षौंदेखि प्यालेस्टिनी राज्य बन्ने हो भने त्यसले अन्ततः हमासलाई तागत दिन सक्ने र इजरायलको सिमानामा हमासद्वारा सञ्चालित ठूलो राज्यको सम्भावना पैदा हुने दाबी गर्दै आउनुभएको छ । तर अमेरिकाले गाजामा युद्धविरामका लागि परिष्कृत प्रस्ताव अघि बढाउँदा इजरायलमाथि लचिलो देखिन अन्तर्राष्ट्रिय समुदायको तीव्र दबाब परेको छ ।

    सुरक्षा परिषद्ले रुस, चीन तथा केही अरब राष्ट्रहरूको कडा आपत्तिका बीच पनि गाजामा अन्तर्राष्ट्रिय स्थायित्वकरण बल तैनाथ गर्ने प्रावधानसहितको अमेरिकी प्रस्तावमा मतदान गर्ने अपेक्षा गरिएको छ । 

    हमास तथा अन्य प्यालेस्टिनी समूहहरूले भने उक्त प्रस्तावलाई गाजामा ‘अन्तर्राष्ट्रिय जनादेश’ थोपर्ने कदम भन्दै आपत्ति जनाएका छन् । उनीहरूले प्रस्ताव इजरायलप्रति पक्षपातपूर्ण रहेको र प्यालेस्टिनीलाई आफ्नै मुद्दाहरू व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित गराउने आरोप लगाएका छन् । उनीहरूका अनुसार कुनै पनि स्थायित्वकरण बल प्रत्यक्ष रूपमा संयुक्त राष्ट्रसङ्घको नियन्त्रणमा रहनुपर्ने तथा इजरायललाई त्यो संरचनामा समावेश गर्न नहुने स्पष्ट माग गरिएको छ ।

    अमेरिकी प्रस्तावमा गाजालाई निःशस्त्रीकरण गर्ने उल्लेखलाई हमासले कडा रूपमा अस्वीकार गरेको छ । नेतान्याहुले आइतबार आफ्ना मन्त्रीहरूसँगको छलफलमा गाजाको असैन्यीकरण ‘सजिलो वा कठिन दुवै तरिकाले’ गरिने चेतावनी दिनुभएको थियो । 

    अमेरिकामाथि स्थायित्वकरण बलका लागि सैनिक योगदान दिन सक्ने मुलुकहरूको दबाब परेको हुँदा उसले प्रस्तावमा प्यालेस्टिनी आत्मनिर्णय सम्बन्धी भाषालाई अझ कडा बनाएको बताइन्छ । संशोधित प्रस्तावमा अब राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले ‘प्यालेस्टिनी राज्यका लागि विश्वसनीय मार्ग’ दिन सक्ने उल्लेख गरिएको छ । यसका विपरीत प्रतिद्वन्द्वी रूसी प्रस्तावले प्यालेस्टिनी राज्यको पक्षमा अझ सशक्त अभिव्यक्ति प्रयोग गर्छ ।

    अन्तर्राष्ट्रिय समुदायले इजरायल–प्यालेस्टिनी दीर्घकालीन समाधानको एकमात्र व्यावहारिक मार्गका रूपमा दुई–राष्ट्र समाधानलाई वर्षौंदेखि औपचारिक मान्यता दिँदै आएको छ । तर नेतान्याहुका कडापन्थी गठबन्धन साझेदारहरूले उहाँलाई प्यालेस्टिनी स्वतन्त्रताको विषयमा कडा र कठोर कदम चाल्न दबाब दिइरहेका छन् । 

    नेतान्याहुले आइतबार इजरायलको नीतिमा ‘एक इन्च पनि परिवर्तन नभएको’ उल्लेख गर्दै बाहिरी वा आन्तरिक कुनै पनि दबाबले आफूलाई विचलित नपार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई कसैको पुष्टि, ट्विट वा व्याख्यानको आवश्यक छैन ।”

    पछिल्ला महिनाहरूमा उक्त दबाब झनै बढेको छ । सेप्टेम्बरमा बेलायत, अस्ट्रेलिया र क्यानाडाले प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिएपछि नेतान्याहुले ती मुलुकहरूलाई ‘हमासलाई पुरस्कार दिने’ आरोपसमेत लगाउनुभएको थियो ।

    यसबीच पश्चिम किनारमा बढिरहेको बसोबासकर्ता हिंसाका बारे नेतान्याहुले पहिलोपटक सार्वजनिक रूपमा टिप्पणी गर्दै हिंसा ‘एक सानो समूहका चरमपन्थीहरूको काम’ भएको दाबी गर्नुभयो । यद्यपि प्यालेस्टिनी तथा मानवअधिकार समूहहरूले उक्त दाबी अस्वीकार गर्दै हिंसा व्यापक भएको र सरकार मौन बसेको आरोप लगाएका छन् । 

    पश्चिम किनारमा इजरायली गोली प्रहारबाट पछिल्ला दिनमा सातौँ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूको भनाइ छ । इजरायली सैन्य अभियान तथा बसोबासकर्तासम्बन्धी आक्रमणहरू तीव्र रूपमा बढिरहेका छन् ।

    इजरायली सेनाले आइतबार नब्लसमा भएको कारबाहीमा विस्फोटक प्रहार गर्ने प्रयासपछि जवाफी गोली चलाएको दाबी गरेको छ । त्यसपछि फेरो क्षेत्रमा ‘हानि पु¥याउन खोज्ने व्यक्ति’ मारिएको बताइएको छ, तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन । प्यालेस्टिनी पक्षबाट तत्काल प्रतिक्रिया आएको थिएन । पश्चिम किनारका पछिल्ला घटनामा १५–१७ वर्षका छ जना किशोरसमेत मारिएका छन् ।

    नेतान्याहुले बसोबासकर्ताद्वारा गरिने हिंसालाई ‘केवल केही कट्टर समूहको गतिविधि’ भने पनि अधिकार समूहहरूले यो हिंसा वर्तमान अतिदक्षिणपन्थी सरकारको ‘दण्डहीनता’ का कारण बढेको बताएका छन् । सेटलर नेताहरूले सरकारका महत्त्वपूर्ण जिम्मेवारी, जस्तै राष्ट्रिय प्रहरी बल तथा पश्चिम किनार नीति नियमन गर्ने मन्त्रालयहरू नेतृत्व गरिरहेका छन् । 

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पश्चिम किनारका यी घटनाले ‘गाजामा भइरहेको कूटनीतिक प्रयासलाई कमजोर पार्न सक्ने’ चेतावनी दिनुभएको छ । 

    संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका अनुसार अक्टोबर महिनामा मात्रै इजरायली बसोबासकर्ताद्वारा प्यालेस्टिनीहरू विरुद्ध २६० भन्दा बढी आक्रमण दर्ता भएका छन् । यो सन् २००६ पछि कुनै पनि महिनामा सबैभन्दा उच्च हो ।

    गाजामा पनि स्थिति जटिल छ । इजरायली सेनाले आइतबार आफ्नो नियन्त्रण क्षेत्रभित्र प्रवेश गरेका एक व्यक्तिलाई तत्काल खतरा उत्पन्न गरेको भन्दै मारिएको दाबी गरेको छ । 

    दक्षिणी गाजाको खान युनुसस्थित मुवासी तम्बु शिविरमा भारी वर्षापछि बाढीका बीच विस्थापित परिवारहरू कठिनाइ बेहोर्दै बस्थे । फाटेका तम्बुहरूबाट पानी लगातार चुहिँदै थियो, बालबालिकाहरू नाङ्गै खुट्टा हिँडिरहेका थिए । विस्थापित प्यालेस्टिनी अब्दल्लाह अबु कुटाले भन्नुभयो, “हाम्रो तम्बु र स्नानगृह कपडाबाट बनेका छन् । घामले पहिल्यै जीर्ण पारेको छ । वर्षा परे सबै चीज भिज्छ । यो पीडा वर्णनातीत छ ।”