मंसिर १, २०८२ सोमबार

म्याग्दी, १ मङसिर : व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाउनुभएको छ । 
सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गर्नुभएको हो । विसं २०५० मा घर, जग्गा र खेती किसानी छाडेर बेनी बजार झरेका थियौँ,” उहाँले भन्नुभयो “२० वर्ष बेनीमा व्यवसाय गरे । करिब १२ वर्ष भारत र नेपालकै विभिन्न सहरमा नोकरी गरे । सोचेजस्तो सफलता हात नपरेपछि फेरि गाउँ फर्किएर तरकारी खेती गर्न थालेको हो ।” 

तरकारी खेतीका लागि पौडेलले चार रोपनी पुख्यौली पाखोबारीलाई व्यवस्थापन गर्नुभएको छ । गत वर्षसम्म झाडीले भरिएको बारीमा अहिले बन्दा, काउली र ब्रोकाउली खेती गरेर हराभरा भएको छ । सडक, यातायात, सिँचाइ र बजारको सुविधा भएकाले तरकारी खेतीमा पौडेलले सम्भावना देख्नुभएको छ । बारीकै छेउको सडक भएर गुड्ने गाडीले तरकारी ढुवानी गरेर म्याग्दीको सदरमुकाम बेनीमा झार्छ । बेनीबाट मुस्ताङसम्म तरकारी बिक्री हुन्छ । बजारको समस्या नभएको पौडेलले बताउनुभयो । 

खेती गर्न छाडेपछि पुख्यौली जग्गा उपभोगविहीन भएको थियो । “५० को दशकमा गाउँ छाड्ने लहरनै चलको थियो, त्यही लहरमा हामी पनि बजार झ¥यौ,” उहाँले भन्नुभयो “बजारमा दुःखसुख गरेर छोराछोरी पढाएँ, दुई छोरा सरकारी जागिरे छन, छोरी विदेशमा छिन् । खेर गएको जग्गा सदुपयोग गर्न तीन दशकपछि गाउँ फर्किएका हौँ ।” 

बजारमा बस्न थालेपछि पौडेलको पुरानो घर भत्किएको थियो । जन्मथलो फर्किएपछि उहाँले बस्नको लागि सामान्य घर निर्माण गर्नुभएको छ । साना–साना पाखोबारीका पोहोटालाई पर्खाल लगाएर सम्माई गरा बनाउनुभएको छ ।  मेहनत र परिश्रम गर्ने हो भने गाउँमा पनि अवसर र सम्भावना भएको सन्देश पौडेलले दिनुभएका उहाँका छिमेकी गोपाल आचार्यले बताउनुभयो । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको मल्लाज पर्वतको जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्छ । 

फरक जिल्ला भए पनि प्रशासनिक बाहेक मल्लाजको सामाजिक, आर्थिक, ब्यापारिकसम्बन्ध म्याग्दीसँग धेरै छ । विसं २०४६ देखि सुरु भएको बृहत मल्लाज सिँचाइ आयोजना विसं २०७४ मा सम्पन्न भएपछि यहाँका किसानलाई सहज भएको छ । त्यसअघि सिँचाइको असुविधाले गर्दा किसानलाई खेती बाली लगाउन समस्या थियो ।