कात्तिक २९, २०८२ शनिबार

कास्की, २९ कात्तिकः विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार  पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ ।

पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको थियो ।

शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिनुभयो ।

उहाँले सबैले मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गर्नुभयो । “सकेसम्म घरकै खाना खानुस्, कामका अनुपातमा खानुस् । अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेलाबेलामा जाँच गराउनुस्,” डा अधिकारीले भन्नुभयो ।

मधुमेहका कारण अनेक समस्या आउने उल्लेख गर्दै उहाँले अहिले मिर्गाैला डायलाइसिस गराइरहेकामध्ये ७० प्रतिशत जति मधुमेह हुँदा हेलचेक्र्याई गर्ने भएको सुनाउनुभयो । मधुमेह समाज र राष्ट्रकै लागि बोझ बनेको जनाउँदै डा अधिकारीले अब समाज, राष्ट्र, स्वास्थ्यकर्मी र आममानिसको एकीकृत प्रयासले मात्र यसको प्रभाव कम गर्न सकिने विचार राख्नुयो ।

मधुमेहले तत्काल असर गरेको नदेखिए पनि हेलचेक्र्याई गरे दीर्घकालसम्म अनेक असर हुने उल्लेख गर्नुभयो ।

“मधुमेह लागेपछि पनि हेलचेक्र्याई गर्दा पाँच वर्षसम्म केही असर नदेखिन सक्छ । त्यसपछि मिर्गाैलामा असर, थकान, तीर्खा लाग्ने हुन सक्छ । पाँचदेखि १० वर्षसम्म आँखामा असर हुन सक्छ, रोग प्रतिरोधि शक्ति कम हुन्छ । १० वर्षसम्म पनि उपचार नगरे शरीरका सबै अङ्गमा असर गर्न थाल्छ ।” अधिकारीले भन्नुभयो ।

कार्यक्रममा पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले नागरिकको स्वास्थ सरकारको मुख्य सरोकार भएको बताउनुभयो । वडाध्यक्ष बरालले जनस्तरबाट हुने यस खालका सचेतना र शिविरले सरकारको लक्ष्य प्राप्त गर्न सघाउने उल्लेख गर्नुभयो ।

    युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले सर्वसाधारणलाई स्वास्थ्य सचेतना, निःशुल्क जाँचसँगै पोखरामा विश्वस्तरको गुणस्तरको सेवा प्रदान गर्न लागिपरेको बताउनुभयो ।

युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो । पोखराभित्र सात ठाउँबाट सेवा दिइरहेको युआरएलले मुख्य कार्यालयसहित गण्डकी प्रदेशका १८ स्थानबाट सेवा प्रदान गरिरहेको छ ।

विभिन्न सङ्घसंस्थासँग सहकार्य र आफैँसमेतले शिविर आयोजना गर्दै आएकोमा शुक्रबारको शिविर २११ औँ रहेको अध्यक्ष पन्थको भनाइ छ ।