चितवन, २८ कात्तिकः आफ्नो जीवनको महत्वपूर्ण समय कृषि विकास बैङ्कमा सेवा गरेर अवकाश पाएपछि भरतपुर महानगरपालिका–१२ का हिमप्रसाद भट्टराई अहिले अम्बाखेतीमा रमाउन थाल्नुभएको छ ।
अध्ययनका क्रममा एमएसी हटिकल्चर फुड साइन्स (फलफूल विज्ञान) मा गर्नुभएका भट्टराई अहिले खैरहनी नगरपालिका–५ बुडौलीमा तीन बिगाहा जग्गा भाडामा लिएर अम्बाखेती गर्दै आउनुभएको छ ।
वरिपरि कम्पाउन्ड गरेर रासायनिक मलको प्रयोग बिना नै व्यावसायिक रुपमा अम्बाखेती गर्दै आएको उहाँले बताउनुभयो । उहाँले अहिले दुई प्रजातिका अम्बा लगाउँदै आउनुभएको छ । पाँच जना नियमित रोजगारीसहित उहाँले व्यावसायिक रुपमा अम्बाखेती गर्दै आउनुभएको हो । विगत छ वर्षदेखि अम्बाखेती गर्दै आउनुभएका उहाँ उत्पादित अम्बाले बजार पाउन नसक्दा निकै चिन्तित हुनुहुन्छ ।
उहाँले भन्नुभयो, “स्थानीय उत्पादन होभन्दा व्यावसायीहरुले विश्वास गर्नुहुन्न ।” नेपालमा भारत र चीनबाट अम्बा आउने गरेको बताउँदै उहाँले स्थानीय बारीको उत्पादनलाई समेत बजार दिन व्यवसायीलाई आग्रह गर्नुभयो । अहिले स्थानीय बजारमा अम्बा बिक्री गर्दै आएको भए पनि अब काठमाडौँ र पोखरासमेत पठाउने योजनामा रहेको उहाँले बताउनुभयो ।
उहाँले गुनासो गर्नुभयो, “टिपेर बजारमा लैजाँदा यहीँको उत्पादन हो र भनेर जिस्काउने गर्दछन्, मलाई बाहिरको ल्याएर बेच्नुपर्ने जरुरी छैन ।” उहाँले थाइल्यान्ड र श्रीलङ्कन जातका अम्बा लगाएर उत्पादन गरी बजारमा लैजाने गर्नुभएको छ । बाह्र महिना नै उत्पादन हुने हुँदा यो व्यावसायिक रुपमा खेती गरेको उहाँले सुनाउनुभयो । अहिलेको ‘सिजन’मा मात्रै ५० टन हाराहारी अम्बा उत्पादन गर्ने लक्ष्यका साथ आफूले व्यावसायिक रुपमा खेती गरेको उहाँले बताउनुभयो । विगत छ वर्षदेखि व्यावसायिक रुपमा अम्बाको खेती गर्दै आउनुभएका भट्टराई उत्पादन लिन थालेको तीन वर्ष भएको बताउनुहुन्छ ।
सामान्य उत्पादन बिरुवा लगाएको १८ महिनाबाट लिन सुरु गरेको भए पनि पूर्ण रुपमा उत्पादन लिन थालेको तीन वर्ष भएको उहाँले सुनाउनुभयो । आयातित अम्बाका कारण स्थानीयले बजार नपाउँदा व्यावसायिक रुपमा गर्ने किसानको सङ्ख्या नगण्य मात्रामा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लामा सात जनाले व्यावसायिक रुपमा अम्बाखेती गर्दै आएका छन् । उनीहरुमध्ये कतिपयले प्राविधिक ज्ञान नहुँदा असार महिनामा मात्र उत्पादन लिने गरेका छन् । भट्टराईको अम्बा बगैँचामा उत्पादित अम्बा अहिले एउटा आधा किलोदेखि एक दशमलव पाँच किलोसम्मका रहेका छन् । सोही जमिनमा उहाँले अम्बासँगै ड्रागन फ्रुटको समेत खेती गर्दै आउनुभएको छ ।
जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार व्यावसायिक रुपमा धेरै क्षेत्रफलमा खेती गर्ने भट्टराई मात्रै हुनुहुन्छ । अन्य ५÷६ जनाले दुईदेखि १० कट्ठा क्षेत्रफलमा उत्पादन गर्ने गरेका छन् । अहिले जिल्लामा व्यावसायिक रुपमा अम्बाखेती पाँच बिगाहा क्षेत्रफलमा रहेको उहाँले जानकारी दिनुभयो ।
अम्बा थोरै बोटमा पनि धेरै फल्ने र जाडो मौसममा ग्राहकले चिसोको समस्या हुन्छ भनेर खरिद नगर्ने हुँदा बजार पाउन कठिन हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी समयमा माग धेरै हुन्छ, जाडोमा माग नहुँदा समस्या भयो ।” स्थानीय उत्पादनका बारेमा व्यवसायीहरुलाई ज्ञान नहुँदासमेत समस्या भएको उहाँको भनाइ छ ।