धरान (सुनसरी), १७ कात्तिकः सुनसरीको रामधुनी नगरपालिका–२ मा थारू समुदायको इतिहास, परम्परा र संस्कृतिलाई संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले थारू सङ्ग्रहालय स्थापना गरिएको छ ।
तीन कट्ठा १० धुर क्षेत्रफलमा फैलिएको उक्त सङ्ग्रहालय सङ्घीय सरकारको २०७६÷७७ सालको ‘तराई–मधेस समृद्धि कार्यक्रम’ अन्तर्गत प्राप्त रु ३५ लाख बजेटमा निर्माण गरिएको रामधुनी नगरपालिका–२ का वडा सदस्य रामनारायण चौधरीले बताउनुभयो । सङ्ग्रहालयभित्र थारू समुदायको जीवनशैली, संस्कार र सांस्कृतिक परम्परालाई झल्काउने १५० भन्दा बढी मूर्ति र संरचना स्थापना गरिएका छन् । वडा सदस्य चौधरीका अनुसार, सङ्ग्रहालय विशेषगरी थारू समुदायको सांस्कृतिक पहिचान संरक्षण र नयाँ पुस्तालाई आफ्नो मौलिक परम्पराबारे जानकारी गराउने उद्देश्यले निर्माण गरिएको हो ।
“हाम्रा नयाँ पुस्तालाई आफ्नै संस्कृति र पहिचानबारे थाहा होस् भनेर यो सङ्ग्रहालय निर्माण गरिएको हो”, उहाँले भन्नुभयो, “रामधुनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सङ्ग्रहालय मर्मत तथा रङरोगनका साथै केही सामग्री थपका लागि रु सात लाख विनियोजन गरेको छ ।”
नगरपालिकाले हरेक वर्ष सङ्ग्रहालयका लागि बजेटको व्यवस्था गर्दै आएको छ । सग्रङ्हालयमा विदेशी पर्यटक समेत आउने गरेको बताउँदै वडा सदस्य चौधरीले यसको पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको बताउनुभयो । सङ्ग्रहालयभित्र थारू समुदायको जन्मदेखि मृत्यु संस्कारसम्मका विविध सांस्कृतिक र ऐतिहासिक पाटो मूर्ति र कलात्मक संरचनामार्फत चित्रण गरिएको छ ।