कात्तिक १७, २०८२ सोमबार

रसुवा, १७ कात्तिकः रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्नेभएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ । गत असारमा ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि दुई देशबीचको आवतजावत बन्द भएको अवस्थमा चिनियाँ पक्षले निर्माण सो पुल निर्माण गरिरहेको छ ।

    रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चिनियाँ अधिकारीहरूसँगको छलफलपछि एक महिनाभित्र पुल निर्माण सम्पन्न हुने र पुनः बैठक बसी सञ्चालन मिति तय गरिने राससलाई जानकारी दिनुभयो । 

    चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद रसुवागढीस्थित मितेरी पुल निर्माणलाई प्राथमिकता दिएको बताउँदै काबुभन्दा बाहिरको परिस्थिति सिर्जना नभएमा एक महिनाभित्र यातायात सञ्चालन हुने जानकारी प्राप्त भएको उहाँल स्पष्ट गर्नुभयो ।

    मितेरी पुल बगाएसँगै सो नाकाबाट हुने आयात–निर्यात ठप्प हुँदा कम्तीमा रु १४–१५ अर्ब राजस्व गुमेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद  भट्टराईले जानकारी दिनुभयो । गत आर्थिक वर्षको यसै अवधिमा रु १४ अर्ब भन्सार शुल्क असुली भएको थियो ।

    ‘फिल्ड’मा कार्यरत प्राविधिकका अनुसार स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको १६ किमी राजमार्ग मर्मत तथा निर्माण भइरहे पनि पहिरो र नदीकटानका कारण अपेक्षा गरिएअनुसार काम अघि बढ्न नसकेको अवस्था छ ।  टिमुरे र तातोपानीबीचको पाखोमा पहिरो गहिरहने, लिङलिङ, कागतीवारि नजिकको भीर, घट्टेखोलाको दक्षिणी भागसहित कैयौँ स्थानमा नदीले सडक कटान गर्दा सोचेअनुसार मर्मतसम्भार चाँडो हुन नसकेको सडक विभागले जनाएको छ ।

    गुणस्तरीय ढङ्गबाट यथासक्य चाँडो सो सडकखण्डको निर्माण सक्न विपद् ब्यवस्थापन समितिले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।