महोत्तरी, १६ कात्तिकः मिथिला क्षेत्रमा शनिबार देवोत्थान उत्सव मनाइएको छ । मैथिल परम्परामा प्रवोधिनी पनि भनिने कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णु निद्राबाट ब्युझनुभएको विश्वासमा यस दिन व्रत, भजनकीर्तन र भगवान् श्री विष्णु र तुलसाबीच विवाह समारोह गरेर देवोत्थान उत्सव मनाइएको हो । पर्वका अवसरमा यहाँका मठमन्दिर र घरघरैजसो तुलसा र शालिग्राम (भगवान् विष्णुको प्रतीक)को विवाहोत्सव मनाउने मैथिल परम्परा छ ।
महिनैपिच्छे कैयौं धार्मिक, सांस्कृतिक र पारम्परिक पर्व परम्पराको धनी मानिने मिथिलामा देवोत्थानपछि विवाह, यज्ञोपवित (व्रतबन्ध), गृहप्रवेश, मुण्डन र यज्ञयज्ञादिसहितका शुभकार्यको बाटो खुल्ने मानिन्छ । असार शुक्ल एकादशीपछि रोकिने यस्ता शुभकार्य देवोत्थान उत्सव सम्पन्न गरेसँगै खुल्ने हुँदा मिथिलामा यो महत्वको पर्व रहँदै आएको मैथिल लोकपरम्पराका ज्ञाता जलेश्वर–४ सुगाभवानीपट्टीका ८५ वर्षीय कृष्णचन्द्र झा बताउनुहुन्छ । यस्ता शुभकार्यमा यो दिनपछि भगवान् विष्णुको छत्रछायाँ रहने विश्वास गरिन्छ ।
“देवोत्थान एकादशी मैथिल परम्परामा विशिष्ट दिन मानिन्छ, यस दिनपछि देवजागरण हुने विश्वास गरिन्छ”, उहाँ भन्नुहुन्छ, “भगवान् विष्णु यसै दिन चार महिना लामो निद्राबाट ब्युझनुभएको विश्वासमा यो पर्व उल्लासका साथ मनाउने मैथिल परम्परा छ ।” भगवान् विष्णु असार शुक्ल एकादशीका दिन क्षार समुद्रमा शयन गर्ने र कार्तिक शुक्ल एकादशीका दिन जागा हुने हिन्दू मैथिल विश्वास छ । असार शुक्ल एकादशीलाई ‘हरिसयनी’ र कार्तिक शुक्लपक्षको देवोत्थान एकादशीलाई ‘हरिवोधनी’ पनि भन्ने गरिन्छ ।
मिथिलामा यो पर्व निष्ठाका साथ व्रत गर्दै श्री विष्णु र तुलसाबीच विवाहोत्सव मनाएर गरिन्छ । यस दिन घरआँगनको तुलसीको मठ सिँगार्ने र विष्णु रुप मानेर शालिग्रामसँग तुलसाको विवाह भएको उत्सव मनाइन्छ । दिनभरि विवाह विधिको रमाइलोमा सरिक मैथिल र मिथिलानी आजको रात भने भजनकीर्तनमा रम्नेछन् । यो विवाहोत्सवमा मिथिलानी (मिथिलाका नारी) सुमधुर विवाह गीत गाउँछन् ।
‘तुलसी सजी सँवरी रहल अछि,
शालिग्राम जनक ललना...!’
देवोत्थान एकादशी व्रत प्रभावले विष्णुलोक प्राप्त हुने मैथिल हिन्दू जनविश्वास छ । यस दिन बिहानै सूर्योदयपूर्व धार्मिक महत्वका जलाशयमा नुहाएर व्रत सङ्कल्प गरिन्छ । यो व्रत कसैले निराहार र कसैले फलाहार गरेर मनाउँछन् । पर्वका दिन तुलसी मठ, तलाउको डिल र गाउँबस्तीका धार्मिक महत्वका मठमन्दिरमा साँझ दीपोत्सव मनाइन्छ । बर्तालुले शनिबार (हिजो) साँझ यो दीपोत्सव सम्पन्न गरेका छन् ।
यस पर्वको मुख्य आकर्षण भने तुलसी शालिग्राम विवाह नै रहँदै आएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा बताउनुहुन्छ । भगवान् विष्णु निद्राबाट जागा भएपछि सबै काम शुभ हुने मैथिल बताउँछन् । भगवान् विष्णु जागा हुने र यसै दिन तुलसीसँग विवाह हुने दिनलाई मिथिलानीले गीतमा यसरी जोड्छन् ।
‘देव उठल कार्तिकमें, शुभकार्य स‘ब होइ,
तुलसी विवाहक नेपथ्यसँ मंंंगल बजन गुँजी सोइ ।’
पर्वमा मिथिलामा विवाहका बेला गाइने मङ्गल गीत गाइन्छन् । पर्वको दिन राति जाग्राम बसेर हरिकीर्तन गर्दै भोलिपल्ट द्वादशी तिथिमा यो व्रत साङ्गता गरिने चलन रहेको बर्दिबास–२ का पण्डित महेशकुमार झा बताउनुहुन्छ । वर्षका सबै एकादशी व्रत गर्न नसकेकाहरूले पनि देवोत्थान र हरिशयनी एकादशी व्रत गरे सबै व्रत गरेको पुण्यप्राप्त हुने एकादशी माहात्म्यमा उल्लेख छ ।