काठमाडौँ, ११ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले आगामी फागुन २१ गते हुने निर्वाचनको निम्ति वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
यहाँ आज आयोजित ‘संसद् पुनःस्थापना कि निर्वाचन’ विषयक अन्तररक्रिया उहाँले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नरहेको र त्यसका लागि सरकारले वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो ।
नेता तामाङले भन्नुभएको छ, “चुनावको निमित्त राजनीतिक दल र नागरिक समाजलाई विश्वस्त तुल्याउनुपर्छ । चुनाव निष्पक्ष हुन्छ, नागरिकले स्वतन्त्र ढङ्गले निर्वाचनमा भाग लिन पाउँछन् र निर्वाचन शान्तिपूर्ण ढङ्गले हुन्छ भन्ने कुरा राज्यको संयन्त्रलाई पनि विश्वास हुनुप¥यो ।”
उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारीको निमित्त आफ्नो पार्टी तयार रहेको पनि बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले आवधिक निर्वाचन निष्पक्ष र स्वतन्त्र ढङ्गबाट हुन्छ भन्ने कुराको सुनिश्चितता गरिनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेता जोडिएका भए छानबिन गर्न सरकारलाई आग्रह गर्नुभयो ।
नेता पोखरेलले भन्नुभयो, “भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका कोही पनि मान्छे परेका छन् भने छानबिन गरियोस् । हाल हामी सरकारमा छैनौँ, त्यसैले हाम्रो आग्रह छ एमालेलगायत नेतामाथि छानबिन होस् ।”