कात्तिक ९, २०८२ आइतबार

बागमती, ९ कात्तिक : श्रद्धाको पर्वका रूपमा मनाइने छठपर्वका लागि हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीतटलाई विशेष रूपमा सरसफाइ र शृङ्गारिँदैछ । राप्तीतटलाई सरसफाइ गरेर पण्डाल लगाउने र शृङ्गारिने कार्य भइरहेको छठ पूजा समितिका संयोजक रवि गुप्ताले जानकारी दिनुभयो । बर्तालुहरू रातभर त्यही पन्डालमुनि जाग्राम बसेर पूजा गर्नेछन् । छठमा बर्तालु र अवलोकन गर्न जानेहरूको सङ्ख्या हजारौँको हुने गर्छ । गत वर्ष ६० हजारभन्दा बढीको सहभागिता रहेको आयोजकहरूको दाबी छ । यस वर्ष गत वर्षको भन्दा पनि बढी सहभागी हुने अनुमान छ ।

प्रत्येक वर्ष छठ मनाउनेहरूको सङ्ख्यमा वृद्धि भइरहेकाले छठका लागि आवश्यक पर्ने सामनाहरूको जोहो गर्न किनमेल गर्नेको बजारहरूमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठ पर्वका आवश्यक पर्ने प्रसाद तथा अन्य समानको मूल्य निकै वृद्धि भएको स्थानीयले बताएका छन् ।

यस वर्षको छठ शनिबारदेखि सुरु भएको छ । चार दिनसम्म मनाइने छठको पहिलो दिन बर्तालुहरू नहायखाय गरी छठपर्व आरम्भ गर्ने गरेको छ । छठको दोस्रो दिन खरना विधि गर्ने गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरेर अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालुहरू दिनभरि उपवास बस्ने गर्छन् ।

बेलुकी पख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खिर पकाइन्छ । यस्तो खिर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । छठको तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुहरूले रातभरि जाग्रामा बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ ।
 
छठको मुख्य प्रसादका रूपमा रहेको केरा फलफूल, मिठाइ, अदुवा उखुलगायत बाँसबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ । चार दिनसम्म मनाइने यो पर्वमा बर्तालु महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ ।
 
आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था

छठपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न हेटौँडा नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिनेछ ।
 
छठ बर्तालुहरू पूजा गर्न नदी तटमा जाँदा चोरी, डकैती, लुटपाट हुनसक्ने भएकाले विशेष टोली, मोबाइल गस्तीदेखि र स्ट्राइकिङसहितका प्रहरी टोली परिचालन गरिने प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । ‘फास्ट रिस्पोन्स’का लागि क्यूआरटी अर्थात ‘क्विक रिस्पोन्स टिम’ परिचालन गरिने र कुनै पनि घटना भएलगत्तै क्यूआरटी टोली पुग्ने उहाँको भनाइ छ ।