डुम्रे (तनहुँ), ८ कात्तिकः जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ संरक्षण केन्द्र पर्यावरण संरक्षण र जैविक विविधताको उत्कृष्ट गन्तव्य बनेको छ । लोपोन्मुख अवस्थामा पुगेका गिद्धको आहार व्यवस्थापन भएपछि केन्द्रमा गिद्धका बथान देखिन थालेका छन् ।
नगरपालिकाको पहलमा गौ संरक्षण केन्द्र स्थापना तथा व्यवस्थापन भएपछि विगतमा हराउँदै गएका गिद्धका नयाँ प्रजातिसहित बथान फर्किन थालेका केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । “आहारको व्यवस्थापनले सेतो, खैरोलगायत विभिन्न प्रजातिका लोपोन्मुख गिद्ध देखिन थालेका छन् । यसले हामीलाई पनि खुसी बनाएको छ । हराउँदै गएका लोपोन्मुख पक्षीको संरक्षण भएको छ । अझै यसका प्रजाति बढ्दै गएका छन्”, उहाँले भन्नुभयो ।
प्रकृतिको कुचिकारका रूपमा परिचित गिद्ध पछिल्ला वर्षमा आहाराको अभाव, रूखको कटानी र विषाक्त पदार्थका कारण लोपोन्मुख अवस्थामा पुगेका अध्यक्ष सापकोटाको भनाइ छ । व्यास नगरपालिकाले सञ्चालनमा ल्याएको गौ संरक्षण केन्द्रमा मरेका पशुचौपाया गिद्धको आहाराका रूपमा व्यवस्थापन गर्न थालेपछि अहिले नौ प्रजातिका करिब एक सय गिद्ध दैनिक देखिएका उहाँले जानकारी दिनुभयो ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले छाडा गौ संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको यस केन्द्र बहुउपयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको बीच भागमा हिँड्ने र सवारीसाधनको बाटो छेक्नाका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउन स्थापना गरिएको केन्द्रले गिद्ध संरक्षणमा पनि सहयोग पुगेको छ । यो प्रयास व्यास नगरपालिकाको दीर्घकालीन योजनाअन्तर्गतको अभियान हो ।”
यस कार्यलाई नगरपालिकाको गौरवको योजनामा समावेश गरिएको बताउँदै नगरप्रमुख न्यौपानेले केन्द्रमार्फत आहाराको व्यवस्था भएपछि लोपोन्मुख गिद्ध फर्काउन सफल भएको उल्लेख गर्नुभयो । “यहाँ पूर्ण रूपमा पारिस्थितिक प्रणाली (इकोसिस्टम) लागू गराएका छौँ । जहाँ गाई, गिद्ध, नदी र वनस्पति सबै आपसी सहअस्तित्वमा जोडिएका छन्”, उहाँले भन्नुभयो ।
नगरपालिकाले गिद्ध संरक्षणका लागि प्रत्येक वर्ष रु १० देखि १५ लाख बजेट विनियोजन गर्दै आएको छ । केन्द्रमा कार्यरत तीन कर्मचारीको तलब, गाईका लागि पराल, चोकरलगायत खाद्यपदार्थ र आवश्यक औषधि नगरपालिकाको सहयोगमा उपलब्ध गराइन्छ । साथै, नगरपालिकाले केन्द्रको सुरक्षाका लागि रु १२ लाखमा तारबार लगाएको छ ।
नगरप्रमुख न्यौपानेले नगरले प्राकृतिक सन्तुलन र धार्मिक पर्यटन दुवैलाई अघि बढाउने नीति अपनाइएको बताउनुभयो । “प्रकृतिमा सबै प्राणीले बाँच्ने अधिकार राख्छन् । गिद्ध फर्किनु हाम्रो संरक्षण नीति सफल भएको प्रमाण हो”, उहाँले भन्नुभयो ।
व्यास नगरपालिकाको निरन्तर सहयोगले यो योजना सम्भव र सफल भएको केन्द्रका अध्यक्ष सापकोटाले बताउनुभयो । गौ संरक्षण केन्द्र स्थापनापछि दैनिक नौ प्रजातिका करिब एक सय गिद्ध देखिन थालेका छन् । राज, हिमाली, घाँटी खुइलेदेखि स्थानीय प्रजातिका गिद्ध देख्न सकिने उहाँले जानकारी दिनुभयो ।
सापकोटाले भन्नुभयो, “नगरपालिकाले नसोचेको ठाउँमा पनि सोचेर काम गरेको छ । जसले पर्यावरण र जनजीवन दुवैलाई सन्तुलित बनाउने भूमिकामा उभिएको छ ।” गाई तथा गोरुको मलमूत्र र कुहिने फोहरबाट बायोग्यास प्लान्ट निर्माण गरिएको छ, जसले केन्द्रलाई स्वावलम्बी पनि बनाएको उहाँको भनाइ छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले बिरामी गाईको उपचार र औषधि सहयोग गर्दै आएको छ । केन्द्रको यस्तो सहयोगले मरेका गाईको सिनो सुरक्षित बनाउन चिकित्सकको सल्लाहमा औषधिको मात्रा मिलाइन्छ, जसले गिद्धको स्वास्थ्य र प्रजननमा योगदान पु¥याउनेछ ।
व्यास-५ ढोडेनीस्थित माँ अम्बे अलौकिक कृषि फार्मकी सञ्चालिका कल्पना गौलीले व्यास नगरपालिकाको दीर्घकालीन अभियानलाई सहयोग पुर्याउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गौ संरक्षण केन्द्रले जैविक विविधता र पर्यावरण संरक्षणमा टेवा पुगेको छ । गिद्धले वातावरण सफा र सन्तुलित राख्ने काम गर्छ । व्यास नगरपालिकाको यस प्रयासले तनहुँ मात्रै नभएर देशका सम्पूर्ण पालिकालाई प्रेरित गरेको छ ।”
केन्द्र सञ्चालनपश्चात् जिल्लाबाट हराइसकेको गिद्ध अहिले बथानसहित फर्किएको छन् । जुन नगरपालिकाको दुरदर्शी सोचको नतिजा हो । व्यास नगरपालिकाको यो प्रयासले धार्मिक पर्यटन, हरित विकास र वन्यजन्तु संरक्षण तीनै क्षेत्रलाई जोड्दै तनहुँलाई ‘इको–मोडल’ नगरपालिकातर्फ अघि बढाएको छ । तनहुँ जलविद्युत् आयोजनाले गिद्ध संरक्षणमा टेवा पुगोस् भनेर सामाजिक उत्तर दायित्वअन्तर्गत गिद्ध बस्नका लागि अग्ला खम्बाको व्यवस्था गरिएको छ ।
गिद्धलाई बस्न सहज होस् भनेर खम्बा बनाइए पनि विद्युतीय खम्बामा गएर बस्दा कतिपय गिद्ध करेन्ट लागेर मर्ने गरेका स्थानीय बताउँछन् । अहिले आउन थालेका गिद्धको संरक्षणका लागि विद्युतीय तारलाई नाङ्गो रहेकाले त्यसको व्यवस्थापनमा सहयोग गर्न स्थानीयको आग्रह छ ।