धनुषा, ८ कात्तिकः छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ ।
छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन् । छठ पर्वमा भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को सिङ्गैघरीको माग जनकपुरधामसहित स्थानीय बजारमा अत्यधिक बढेको केरा व्यापारी जनाएका छन् ।
अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ ।
त्यसैगरी जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म अहिले केरा किन्ने ग्राहकको भीड लागेको छ ।
छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयातमा वृद्धि गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो । उहाँका अनसार यस वर्ष व्यापारीले भारत र अन्य जिल्लाबाट ठूलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेको बताउनुभयो ।
गोदाममा पर्याप्त मात्रामा केरा उपलब्ध भएकाले यसपटक व्रर्तालुलाई केराको अभाव नहुने अध्यक्ष यादवले बताउनुभयो । केराको माग बढेसँगै मूल्यमा भने वृद्धि भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ का रमेश गुप्ताका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी मूल्य रु ६०० सयदेखि रु एक हजारसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो ।
छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा केरा भारतबाट आयात गरिएको छ । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको फलफूल व्यवसायीको भनाइ छ । महेन्द्रनगरका जीवन फ्रुट सेन्टरका सञ्चालक जीवन साहले भन्नुभयो, “यस वर्ष झण्डै ७२ ट्रक केरा भित्र्याइएको छ ।”
जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरीको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो ।
छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उहाँले बताउनुभयो । “छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो, बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५÷२० ट्रक बढी केरा मगाइएको छ”, उहाँले भन्नुभयो ।
समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार २०० घरी आउँछन् । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रू छ लाख पर्ने उहाँले जानकारी दिनुभयो । बजारमा प्रत्येक केराको घरीलाई रू ५०० देखि एक हजारसम्ममा बिक्री गरिन्छ ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराको उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।