कात्तिक ६, २०८२ बिहिबार

महेन्द्रनगर (धनुषा), ६ कात्तिकः मिथिलाञ्चलमा आज परम्परागत गोधन कुट्ने पर्व धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइँदैछ ।

    बिहानैदेखि गाउँगाउँका चौबाटा, गल्ली–टोल र घरआँगनमा महिलाको घुइँचो थियो । मिथिलानीहरूले उठेर गोबर र केराउको दाना ओखलमा कुट्दै गोधन कुट्ने परम्परा निभाइरहेका थिए । लक्ष्मीनिया गाउँपालिका–३ का गोविन्द यादवका अनुसार प्रत्येक वर्ष भाइटीकाको भोलिपल्ट यो पर्व मनाउने परम्परा रहिआएको छ ।

    “महिलाहरू बिहानै गाई–भैँसीको गोबर, केराउ र माटो मिसाएर गोधन कुट्छन् । यो कृषिप्रधान जीवनशैलीप्रतिको कृतज्ञताको प्रतीक हो”, उहाँले भन्नुभयो । अघिल्लो दिन राति मिथिलाका घरघरमा गाई–भैँसीको गोठमा गोबरबाट गोधन अर्थात् माता लक्ष्मी र भगवान् विष्णुको प्रतीकात्मक प्रतिमा बनाइन्छ । परम्पराअनुसार राति गाई–भैँसीले त्यो गोधन कुल्चेपछि बाँकी भागलाई बिहान केराउ मिसाएर कुट्ने चलन छ । यसरी कुटिएको मिश्रणलाई ‘गोधन कुट्ने’ भनिन्छ । यसलाई धन, समृद्धि र उर्वरतासँग जोड्ने गरिएको पण्डित कुश्वेवर उपाध्यायले बताउनुभयो ।

    गोधन कुट्ने पर्वको अर्को विशेषता पारिवारिक स्नेह र रमाइलोपन पनि हो । महिलाले बिहानै गोधन कुटेपछि दाजुभाइलाई केराउको दाना (बजरी) खुवाउँछन् भने भाइहरूले दिदीबहिनीलाई कोसेली वा दक्षिणा दिने चलन रहेको स्थानीय सोनिया यादवले बताउनुभयो ।

    यसैगरी दिदीबहिनीले रमाइलो पारामा ‘बजरी खइहा भैया बजर होइहा, दहेज न दिहा दरिद्र होइहा’ लोककथन पनि दोहर्याउँछन् । यसको अर्थ ‘केराउ खाएर बलियो बन, दान नदिए दरिद्र बन’ भन्ने प्रतीकात्मक सन्देश दिनु हो । गोधन कुट्ने पर्व मिथिलाको सांस्कृतिक पहिचान र नारीको श्रम तथा आस्थाको उत्सव हो । यस पर्वले परिवारमा माया, स्नेह र एकताको भावना बलियो बनाउने विश्वास गरिन्छ ।

    साँझपख गाउँका विभिन्न स्थानमा गीत, ठट्ठा र नाचगानसहित सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिन्छ । यसले मिथिला संस्कृतिको मौलिक सौन्दर्य झल्काउँछ ।