विराटनगर, ५ कात्तिक : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४६ को ऐतिहासिक अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री कार्कीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपाल संवत्लाई नेपालको गौरवपूर्ण इतिहास र मौलिक पहिचानसँग जोडिएको सम्वत् भएको उल्लेख छ । यसैगरी नेपाली समाज, संस्कृति र सृजनशील परम्पराको निरन्तरताको प्रतीकका रूपमा सबै नेपालीहरूलाई आत्मसम्मान र गौरवको भावनामा जोड्ने आधार नेपाल संवत् बनेको उल्लेख छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबै जातजाति, भाषा, धर्म र संस्कृतिको एकता आवश्यक रहेको उल्लेख गर्दै नेपाल संवत्ले सामाजिक एकतालाई अझ मजबुत बनाउन, नेपालीबीचको सहअस्तित्व, सहिष्णुता र सद्भावलाई अझ सुदृढ बनाउन प्रेरणा दिने सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले सबै जातजाति, भाषा, धर्म, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताउँदै विविधतामा एकताको भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा अघि बढ्न सबैसँग आह्वान गर्नुभएको छ ।
“नेपाल संवत् ११४६ ले सबैमा नयाँ उत्साह, उमङ्ग, ऊर्जा र समृद्धिको भावना जगाओस्”, मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा उल्लेख छ ।