दमौली (तनहुँ), ५ कात्तिकः अपाङ्गता भएका व्यक्तिहरुले अन्नपूर्ण प्रथम आधार शिविरसम्मको पदयात्रा सुरु गरेका छन् । नेपालका विभिन्न प्रदेश र जिल्लाबाट छ प्रकारका अपाङ्गता भएका व्यक्तिले आजदेखि पदयात्रा सुरु गरेका हुन् ।
शारीरिक अपाङ्गता भएका चोमु शेर्पा खुसी, इश्वर बास्तोला, विशाल भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, अल्बिनो अपाङ्गता विशाल विक, दृष्टि सम्बन्धी दृष्टिविहिनता अपाङ्गता भीम गुरुङ, सुनुवाइ सम्बन्धी बहिरा वासु थकाली र सहयोगीको रुपमा बन्दना राई सम्मिलित टोली अन्नपूर्ण प्रथम आधार शिविरको पैदलयात्रामा निस्किएको हो ।
अपाङ्गतामैत्री नीति र भौतिक संरचना पर्यटन क्षेत्रमा समावेशीता आवश्यक रहेको सन्देश दिन पदयात्रा गरिएको दमौलीका इश्वर बास्तोलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरेक क्षेत्र अपाङ्गतामैत्री हुनुपर्छ, अपाङ्गता भएका व्यक्तिहरुले पनि पदयात्राका लागि सक्षम छन् भन्ने सन्देश दिन पदयात्रा सुरु गरेका हौ ।”
पचहत्तर वर्षअघि जुन ३ अर्थात जेठ २० गते फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । हर्जोग सँगै लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरे सँगै हिमाल आरोहणको युगको सुरुआत भएको थियो ।
अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुगिन्छ ।
आधार शिविर जाने पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर पदयात्रीका लागि आकर्षणको केन्द्र बनेको छ ।