कात्तिक ४, २०८२ मंगलबार

तनहुँ, ४ कात्तिकः यहाँको आँबुखैरेनी गाउँपालिका–१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा आबद्ध महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् । 

    याञ्चोक आमा समूह र आँधीमूल आमा समूहलाई ‘मर्ज’ गरी यहाँका महिलाहरूले विसं २०८० देखि व्यावसायिक फूलखेती गरिरहेका हुन् । अन्य बालीनाली लगाउँदा बाँदरले खाएर दुःख दिन थालेपछि फूलखेती सुरु गरेका उद्यमीहरूले जनाएका छन् । 

    समूहकी अध्यक्ष सुन्तली गुरुङले विशेष गरी तिहारका समयमा यस खेतीबाट बढी आम्दानी हुने गरेको बताउनुभयो । यसपटकको तिहारको भाइटीका नजिकिँदै गर्दा फूल र मालाका माग धान्न भ्याइनभ्याइ भएको उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष गुरुङले भन्नुभयो, “हाल दैनिक ४० जना जनशक्ति फूल टिप्न र माला बनाउन खटिइरहेका छन् । माग धान्न धौ धौ भएको छ ।  कतिपय व्यवसायीहरु फूल खोज्दै बारीमा पुग्न थालेपछि बजारीकरणमा केही सहज भएको छ । गत वर्ष रु चार लाख ३० हजार बराबरको फूल बिक्री भएकामा यस वर्ष रु पाँच लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।” 

    आँबुखैरेनी कृषि शाखाप्रमुख सन्तोष केसीले हाल यहाँ थोरै फूलखेती गरेका किसानले पनि रु ३५ देखि ४० हजारसम्म फूल बिक्री गरेको बताउनुभयो । उहाँले मागअनुसार फूल आपूर्ति गर्न नसकिएको बताउनुभयो । “सुरुमा जसजसले बुकिङ गरे उनीहरूलाई दिन मात्रै सकिएको छ, अरुलाई फूल र माला बिक्री गर्न सकिरहेका छैनौँ”, शाखाप्रमुख केसीले भन्नुभयो,“यस क्षेत्रमा मौत्र  ५० रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । करिब रु १५÷१६ लाखको फूल उत्पादन हुनुपर्ने भए पनि सोचेअनुरुप उत्पादन भने भइरहेको छैन ।” 

यहाँ प्रतिमाला रु ८० देखि १०० सम्म बिक्री मूल्य तोकिएको छ । सयपत्री फूल प्रतिकिलोग्राम रु ३५० देखि ४०० सम्म कायम गरिएको छ । 

गत वर्षको तुलनामा यसवर्ष प्रतिमालामा रु ५० बढी मूल्य पाइएको पुष्प व्यवसायीहरू बताउँछन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा सयपत्रीको खेती प्रविधि र बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।  “माग धान्न सकिएको छैन । अर्को वर्ष एक महिनादेखि नै बुकिङ काउन्टर खुला गर्ने योजना बनाउँछौँ”, उहाँले भन्नुभयो, “फूलखेतीले यस क्षेत्रका महिलाहरू आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएका छन् । पालिकाले यसलाई थप व्यवस्थित बनाउँछ ।”


    यसवर्ष फूल कतार नपठाइने 

    यसवर्ष आन्तरिक माग बढी भएकाले अन्य देशहरूमा फूल निर्यात नगरिने गाउँपालिकाले जनाएको छ ।  गत वर्ष माला तयार गरी बिक्रीका लागि कतारमा पठाइएको थियो । 

यसैगरी कात्तिक ८ देखि १५ गतेसम्म आँबुखैरेनीमा हुन गइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका लागि एक हजार माला ‘बुकिङ’ गरिसकेको कृषि शाखाप्रमुख केसीले जानकारी दिनुभयो । 

    छिम्केश्वरी–बूढीदेवी मन्दिरको बृहत्तर विकासका लागि छिम्केश्वरी पर्यटन विकास समितिले महायज्ञको आयोजना गर्दैछ । महायज्ञमा पण्डित दीनबन्धु पोख्रेलले कथावाचन गर्ने कार्यक्रम छ ।