कात्तिक ४, २०८२ मंगलबार

तनहुँ, ४ कात्तिकः जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले २४ सुत्केरीलाई पोषण भत्ता प्रदान गरेको छ । ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रम अन्तर्गत प्रत्येक गर्भवतीलाई रु पाँच हजारका दरले रु एक लाख २० हजार वितरण गरिएको हो । 

    सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भ जाँच गराएका सुत्केरीलाई प्रोत्साहन स्वरुप रकम प्रदान गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । “उक्त कार्यक्रमले आमा र शिशुको मृत्युदर न्यूनीकरण सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “घरमै सुत्केरी गर्दा आमा र शिशुको ज्यान जोखिममा  पर्ने भएकाले स्वास्थ्य परीक्षण कार्यलाई प्राथामिकता दिइएको छ ।”

    गाउँपालिकाले सुरक्षित सुत्केरीको सन्देश गाउँ–गाउँमा पु¥याउँदै आएको र महिलाको सचेतनामा वृद्वि हुदै गएको सो गाउँपालिकाले जनाएको छ । “पहिले महिलाहरू घरमै सुत्केरी गर्थे, अहिले स्वास्थ्य संस्थामा सुत्केरी गर्न उत्साहित भएर जाने गरेका छन्”, उपाध्यक्ष बालकृष्ण घिमिरेले भन्नुभयो । सुत्केरीलाई घरबाट स्वास्थ्य संस्थासम्म र पुनः घर फर्कदासम्म निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । 

    “गर्भवतीले समयमा परीक्षण गरेमा जटिलता कम हुन्छ, आमा–शिशु दुवै सुरक्षित रहन्छन्”, गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक सक्षम घिमिरेले भन्नुभयो, “चार पटक गर्भ परीक्षण अनिवार्य नियमले महिलामा स्वास्थ्य सचेतना बढाएको छ ।” पाँच वर्षदेखि निरन्तर सञ्चालनमा रहेको यो अभियानले घरमै हुने असुरक्षित सुत्केरी घटाएको छ भने स्वास्थ्य संस्थामा सुत्केरी गर्ने महिलाको संख्या बढ्दै गएको उहाँले बताउनुभयो ।