काठमाडौँ, ४ कत्तिकः नेपालका लागि पाकिस्तानी दूतावासले ‘नेपाल–पाकिस्तान युवा परिषद्’सँगको सहकार्यमा इलामका बाढी प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।
नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाशमीसहितले इलामको माङसेबुङ र फाकफोकथुम नगरपालिकाका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्नुभएको दूतावासले जनाएको छ । माङसेबुङ गाउँपालिकाको गजुरमुखी धाम पुगी उहाँले प्रभावित परिवारलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । गत असोज १७ र १८ गतेको अविरल वर्षाका कारण इलाममा पहिरो जाँदा ३७ जनाको मृत्यु भएको थियो ।
इलामका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय तहका कार्यक्रममा राजदूत हाशमीले प्रभावित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै दुई देशबीचको मित्रता र सहयोगलाई बढाउन जोड दिनुभएको थियो ।
यसअघि, राजदूत हशमीले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई विराटनगरमा भेट गरी विपद्का समयमा ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो ।
---