खोटाङ, ४ कात्तिकः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘सहिद इन्दिरा–राधा प्रथम वाइसिएल कप फुटबल प्रतियोगिता’को उपाधि साकेला गाउँपालिका–२ रतन्छाले जितेको छ ।
‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाइसिएलका युवा’ भन्ने नाराका साथ योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले आयोजना गरेको फुटबल प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा दिक्तेल रुपाकोट मझुवागढी–२ सोल्मालाई ४–१ गोल अन्तरले पराजित गर्दै रतन्छाले उपाधि चुमेको हो ।
जिल्लाका विभिन्न स्थानीय तहका २६ टोलीले सहभागिता जनाएका वडास्तरीय फुटबल प्रतियोगितामा केपिलासगढी गाउँपालिका–३ बास्पानी र साकेला गाउँपालिका–५ मात्तिमले सेमिफाइनलिष्टमा पुगेका छन् । स्थानीय दोर्पा खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताका विजेता, उपविजेता तथा सेमिफाइनलिष्ट दुई वटा टोलीले नगद पुरस्कार क्रमशः रु ३० हजार, रु २० हजार र रु १०÷१० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको वाइसिएल वडा कार्यसमितिका अध्यक्ष उत्तम राईले जानकारी दिनुभयो ।
प्रतियोगिताको विद्यागततर्फ अनुशासित टोलीमा बास्पानी, उत्कृष्ट खेलाडीमा रतन्छाका बालकेसर राई, सर्वाधिक गोलकर्तामा साकेला फुटबल क्लबका अल्बर्ट राई, उत्कृष्ट मिडफिल्डरमा सोल्माका विकास राई, उत्कृष्ट डिफेन्डरमा सोल्माकै सनम राई, उत्कृष्ट गोलरक्षकमा रतन्छाका रितेस राई र उत्कृष्ट प्रशिक्षकमा रतन्छाकै एञ्जल राई घोषित हुनुभएको निर्णायक मण्डलले जनाएको छ । प्रतियोगिता अवधिभरका अनुशासित टोली बास्पानीलाई नगद रु तीन हजार तथा अरुलाई नगद रु दुई÷दुई हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई सहिद दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान नेपाल खोटाङका अध्यक्ष सुरेशकुमार राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राई, वाइसिएल खोटाङका अध्यक्ष भूपेन्द्र किरातीलगायतले संयुक्त रूपमा नगदसहितको पुरस्कार वितरण गर्नुभयो ।
गत असोज ३० गतेदेखि सुरु भएको फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य दुर्गाजयन्ती राईले गर्नुभएको थियो ।
तत्कालीन नेकपा माओवादीको दशवर्षे जनयुद्धका क्रममा तत्कालीन शाही नेपाली सेनाले गोली हानी हत्या गरेका सहिदहरू (इन्दिरा कार्की ‘हिमाली’ र राधा भुजेल ‘अनिशा’)को सम्मान तथा सम्झनामा वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
सहिद इन्दिराको विसं २०५९ असार ३१ गते खोटाङको टुवाखोलामा पति, माओवादी खोटाङका नेता दिलकाजी कार्कीसहित, राधाको विसं २०६३ जेठ १ गते सर्लाहीमा हत्या भएको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डेले जानकारी दिनुभएको छ ।
उक्त प्रतियोगिताका लागि देश तथा विदेशमा रहनुभएका शुभेच्छुकले स्वतःस्फूर्त रूपमा पुरस्कार राशि तथा व्यवस्थापनका लागि आवश्यक खर्च उपलब्ध गराउनुभएको माओवादी केन्द्र प्रदेश समिति सदस्य रविन खम्बुले जानकारी दिनुभयो । वाइसिएल नेपाल वडा कार्यसमितिको आयोजनामा जिल्लामै पहिलो पटक वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेपछि खेलाडीसमेत उत्साहित भएका छन् ।