कात्तिक ३, २०८२ सोमबार

महोत्तरी, ३ कात्तिक : ‘दीयाबाती जलय अहिना, लक्ष्मी घर आय, बैठी अहिना !’ (दीप यसरी नै जली रहोस्, लक्ष्मी घर आएर  बसी रहुन् ) । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको जनबोलीमा तिहारको लक्ष्मी पूजाका दिनलाई ‘दीयाबाती’ भनिन्छ । 

    मिथिलामा कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म विभिन्न विधिबाट मनाइने दीपावली पर्वको खास दिन ‘दीयाबाती’ नै मानिन्छ । उमङ्ग, उल्लास र उज्यालोको पर्व दीपावलीको यही मुख्य मानिने ‘दीयाबाती’ आज मैथिल मनाउँदैछन् । आज  मिथिलामा जताततै ‘दीयाबाती’ को उल्लास छ ।

    मिथिला लोकपरम्परामा ‘दीयाबाती’ पर्व प्रकाश, ज्ञान र शुभको प्रतीक मानिन्छ । कात्तिक औँसीको साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरिने यस पर्वमा घरको मुख्य कोठामा लक्ष्मीको प्रतिमा स्थापित गरी घ्यूउको वर्तमानमा अविछिन्न (रातभरि ननिभ्ने) बत्ती बालेर जाग्राम बस्ने मैथिल परम्परा छ । यस दिन लक्ष्मीको आराधना गरिनाले गरिबी, दारिद्रता नास भएर सुख सन्तोष प्राप्त हुने विश्वास रहेको मैथिल लोकपरम्पराका ज्ञाता संस्कृतिविद् जलेश्वर–५ पतैलीका बासिन्दा सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

    औँसी तिथिको सन्ध्याकालमा प्रारम्भ गरिने लक्ष्मी पूजाका लागि घरमुली व्रत रहने परम्परा छ । यो व्रत भोलिपल्ट समापन गरिन्छ । पर्वमा घर वरपर सबैतिर बत्ती बालेर जगमग बनाइन्छ । पर्वको शास्त्रीय विधिमा घरका चारै सुर, इनार वा पानीको स्रोत (चापाकल, धारा) भएको ठाउँ, बस्तीभित्रको पानीको कुवा, घर आँगनको तुलसी मठ, वरको रुखको फेद, गाई गोठ र आँगनको माझमा गाईको गोबरले लिपिएको ठाउँमा दियोमा बर्तन राखेर कपासका बत्ती बालिने उल्लेख रहेको रायको भनाइ छ । 

    यद्यपि अचेल यस्तो बत्तीका ठाउँमा जताततै बिजुली बत्ती बालिने चलन बढेको छ । यस पर्वमा लक्ष्मी, गाई, तुलसी र कूलदेवीको आराधना गरिने शास्त्रीय विधान रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । “घरमा बालिएको दियोले धनधान्यको रक्षा, पानीका स्रोत नजिक बालिनेले जलदेवताको आराधना, गोठमा बालिनेले गौ (गाई) रक्षा र तुलसीको मठमा बालिने दियो गृह शान्तिको प्रतीक मानिन्छ”, झाले भन्नुभयो, “जगमग प्रकाश भएको ठाउँमा लक्ष्मीको बास हुने विश्वासले यो पर्वमा कुनै बेला बत्ती नजाओस् वा ननिभोस् भन्ने हेक्का राखिन्छ ।” लक्ष्मी प्रवेशका लागि बाटैदेखि घरको मुख्य पूजा कोठासम्म रङ्गेली (विभिन्न रङले बनाइएको कलात्मक रेखाङ्कन, लक्ष्मीलाई गृह प्रवेशको बाटो देखाइने) गरिने मैथिल परम्परा छ । यस दिनको लक्ष्मीको पूजाआराधनामा कमलको पूmलको निकै महत्त्व रहेको पाका मैथिल बताउँछन् ।

     कात्तिक औँसीको राति भोगका दिन सन्ध्याकालदेखि रातभरि लक्ष्मीको आराधना गरिने र भोलिपल्ट औँसी सकिएपछि पूजा विसर्जन गरेर प्रसाद खाइने चलन छ । यसपालि आज सोमबार बिहानको सूर्योदय चतुर्दशी तिथिमा भए पनि दिउँसो ३ बज्नुअघि औँसी लागेर मङ्गलबार साँझ चार बजेर २९ मिनेटको समयसम्म रहने हुँदा रात्रि भोगको औँसी पारेर ‘दीयाबाती’ आज मनाउन मिथिला पञ्चाङ्गम् र विद्यापति पञ्चाङ्गम्ले निर्देश गरेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ वेदवेदाङ्गका ज्ञाता डा रवीन्द्र दास वैष्णवको भनाइ छ । 

    मिथिला क्षेत्रका चाडपर्व र तीर्थव्रत यिनै पञ्चाङ्गबाट निर्देशित हुन्छन् । ‘दीयाबाती’ पर्वको तयारीले यसक्षेत्रमा निकै चहलपहल बढेको छ । गत शनिबार दिपावली सुरु भएदेखि नै यहाँका हाटबजारमा पर्वका सामग्री किनबेच गर्नेहरूको भीड जमेको छ । आम सर्वसाधारण लक्ष्मी आराधना र पूजा सामग्री जुटाउन अझै लागी परेका देखिन्छन् । उज्यालोको यो पर्व मिष्टान्न परिकारको बेला मानिन्छ । घरघरमै थरिथरिका मिष्टान्न पकवान बन्दै छन् । घर परिवेश सबै जगमग छ ।

    ‘दीयाबाती’ कै साँझ लक्ष्मीपूजा प्रारम्भकै बेला मिथिलामा ‘हुक्कालोली’ खेलिने पुरानो परम्परा छ । यो तारको टुप्पोमा जलनशील कपडा तेलमा भिजाएर बालेपछि त्यसलाई नचाउँदै ‘हुक्कालोली’ भन्दै रमाइलो गर्ने चलन छ । यस्तै सनपाटको झिक्रामा एकतिर आगो सल्काएर त्यसलाई हातले नचाउँदै ‘हुक्कालोली’ खेलिन्छ । यो ज्ञानकोे ज्योति, हर्षौल्लास र सामूहिक मिलनको प्रतीक रहेको जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा पूर्वप्रशासक ८५ वर्षीय कृष्णचन्द्र झाको भनाइ छ । तर पछिल्ला वर्षहरूमा ‘हुक्कालोली’ को चलन भने हराउँदै गएको छ । यो परम्परा नयाँ पुस्ताले बिर्सदै गएको कुराले पाका मैथिल भने मौलिक संस्कृति हराउने भन्दै चिन्ता व्यक्त गर्छन् ।

    उमङ्ग र उल्लासको पर्व हुनाले अहिले सम्पूर्ण मिथिला क्षेत्र उमङ्गित छ । आज साँझ ‘दीयाबाती’ मनाउने तयारी घरघरमा छ । उमङ्ग र उल्लासको पर्व हुनाले अहिले सम्पूर्ण मिथिला क्षेत्र उमङ्गित छ । अहिले जताततै लक्ष्मी आराधनाका गीत गुञ्जदैछन् । मिथिलामा दीपावली पर्वमा देउसी/भैलोको परम्परा नभए पनि पछिल्ला वर्षहरूमा पहाडी मधेशसीबीचको अन्तर्घुलनले अब मैथिल युवायुवती यसमा रमाउन थालेका छन् ।