कात्तिक १, २०८२ शनिबार

मोरङ १ कात्तिकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको समृद्धिलाई ध्यान दिई अनुसन्धान कार्यक्रमतर्फ जोड दिनुपर्ने बताउनुभएको छ ।

    मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विश्वविद्यालयको पाँचौँ सभाको आज उद्घाटन गर्दै उहाँले शैक्षिक र उत्पादनमुलुक अनुसन्धान कार्यक्रमले मुलुकको समग्र विकास हुने भएकाले यसतर्फ विशेष ध्यान जानुपर्ने विचार राख्नुभयो । 

    मुख्यमन्त्री कार्कीले विश्वविद्यालयको स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमलाई प्रदेश सरकारअन्तर्गतको धनकुटा अस्पतालमा केन्द्रित  गर्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा विश्वविद्यालयलाई स्वायत्त संस्थाका रुपमा राखी थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँगको सहकार्यमा केही समयपछि ‘कोशी मोबाइल अस्पताल’ तराईका तीन जिल्ला सञ्चालन गर्ने र क्रमशः प्रदेशका अन्य जिल्लामा विस्तार गर्दै जाने जानकारी गराउनुभयो । उहाँले मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्दै नेपाली झण्डा ओढेर सरकारी, निजी सम्पत्ति नष्ट गर्ने कार्य गलत भएको विचार राख्नुभयो ।

    मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रबाट तराईमा बसोबास सर्ने कार्यको नियन्त्रणका लागि सरकारले स्वास्थ्य, शिक्षा र पर्यटकीय क्षेत्रको विकासमा विशेष ध्यान दिने बताउनुभयो ।

    विश्वविद्यालयका उपकुलपति डा सुषाश्री पोखरेलले विश्वविद्यालयले विभिन्न आयुर्वेदिक औषधि उत्पादनका लागि अनुसन्धान सुरु गरेको जानकारी गराउनुभयो ।---