सुरुङ्गा (झापा), २४ असोज : यहाँको शिवसताक्षी नगरपालिका–१ मा मन्दिर टोलमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पौडेलकाअनुसार सो दुर्घटनामा बिर्तामोड–५ निवासी अन्दाजी २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको हो ।
पाराबारीबाट धरमपुर चोकतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प ९३५८ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सोही स्कुटी पछाडि सवार सिन्धुपाल्चोक चिम्लिङबेसी–४ निवासी ३४ वर्षीय सीताराम पराजुली र मोटरसाइकल चालक मोरङ उर्लाबारी–१ निवासी अन्दाजी वर्ष–३१ का सुरज कार्की गम्भीर घाइते भएका छन् । उनीहरूको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।