काठमाडौँ, २४ असोज : ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन् । यससँगै जापानले अब पहिले ब्याटिङ गर्नेछ ।
उक्त प्रतियोगितामा विभिन्न नौ टोली सहभागी छन् । सहभागी टोलीलाई विभिन्न तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा जानेछन् । नेपाल भने समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा कुवेत र जापान छन् ।
नेपाल र जापान दुवै टोलीले आआफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई पराजित गरेका हुन् । पहिलो खेलको जितसँगै नेपाल र जापान सुपर सिक्स पुगिसकेका छन् । त्यस्तै कुवेत भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
सुपर सिक्समा शीर्ष तीन टोलीले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । सुपर सिक्समा बलियो दाबेदारी पेस गर्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।
जापानविरुद्ध नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।
---