ताइपेई, ९ असोज (एएनआई) : प्रशान्त महासागरमा गत हप्ता बनेको सुपर टाइफुन रागासाले ताइवान, फिलिपिन्स, चीन र भियतनाममा व्यापक क्षति पु¥याएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार ताइवानमा भारी वर्षा र बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु र ४६ जना घाइते भएका छन् । ह्वालिएन काउन्टीमा ३१ जना बेपत्ता रहेको रिपोर्ट गरिएको छ ।
रागासा सोमबार सुपर टाइफुनको रूपमा दुई ६० किलोमिटर प्रतिघण्टाको हावासहित फिलिपिन्समा अवतरण भएको थियो । यहाँ कम्तीमा नौ जनाको मृत्यु भएको छ भने एक माछा मार्ने जहाज पल्टिँदा १३ जना कर्मचारी जोखिममा परेका थिए ।
बुधबार रागासालाई सुपरबाट गम्भीर टाइफुनमा डाउनग्रेड गरिएको थियो र अहिले दक्षिणी चीनको तटतर्फ अघि बढ्दै भियतनामतर्फ प्रवेश गरेको छ ।
चीनको गुआङ्गडोङ प्रान्तमा २१ लाख ६० हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । रागासाको हावा यहाँ एक सय ६५ माइल प्रतिघण्टाको तीव्रतामा रहेको रिपोर्ट गरिएको छ ।
ताइवानमा गुआङ्फु टाउनसिपको अवरोध ताल फुट्दा तीन सय जना स्थानीय फसेका थिए र दुई बिरामीको बाढीका कारण मृत्यु भएको थियो ।
हङकङमा पनि केही अवरोध देखिएको थियो, तर विमानस्थल र सार्वजनिक यातायात क्रमशः सामान्य अवस्थामा फर्कंदैछन् ।
फिलिपिन्सले अर्को उष्णकटिबन्धीय आँधी बुलोई (ओपोङ) का लागि तयारी गरिरहेको छ । देशले २५ लाख पारिवारिक फुड प्याक र अन्य आवश्यक सामग्री रणनीतिक रूपमा वितरण गर्न थालेको छ ।
मौसम विभागका अनुसार बुलोई सेप्टेम्बर २६ मा लुजोनमा सिधै ठोक्किन सक्ने सम्भावना छ ।
भियतनाममा पनि रागासाको प्रभाव उच्च रहेको छ । आँधीको गति २० किमी प्रतिघण्टामा पश्चिमतर्फ सर्दैछ र अर्को २४ घण्टाभित्र उष्णकटिबन्धीय अवसादमा कमजोर हुने अनुमान गरिएको छ । उत्तरी तटीय क्षेत्रमा भारी वर्षा हुने अपेक्षा गरिएको छ ।
यस वर्षको रागासा चीन र ताइवान हुँदै गएको सबैभन्दा शक्तिशाली टाइफुन मानिएको छ । यसले व्यापक जनधन र पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । स्थानीय अधिकारीहरू सुरक्षित स्थानमा स्थानान्तरण र उद्धार कार्यमा जुटेका छन् ।