असोज ३, २०८२ शुक्रबार

बागमती, ३ असोजः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 
    
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले संविधानको अक्षरशः पालना र कार्यान्वयन भए मुलुक समृद्धि यात्रामा तीव्र गतिमा अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो । 

केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको संविधान जारी भएका आजको दिनलाई उत्सवको दिनको रुपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ । 

संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि सरोकारबाला सबैले आ–आफ्नो स्थानबाट पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा आग्रह गर्नुहुँदै उहाँले संविधान कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवसले हामी सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । 

संविधान जारी भएको १० वर्षमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन भएको र संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यताहरु समेटिएको उल्लेख गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले सकारात्मक कामको पहलमा सबैको एक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ ।