नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २६ भदौः पश्चिम नवलपरासीमा लगाइएको अनिश्चितकालीन कर्फ्यू आज खुकुलो बनाइएको छ ।
आज बसेको सुरक्षा समितिको बैठकले जिल्लाभरि लगाइएको कर्फ्यू आदेशलाई दिनभरि निषेधाज्ञामा परिणत गर्दै खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा जारी गरिएको सूचनामा जनाइएको छ ।
प्रशासनले जारी गरेको सूचनामा आज बिहान ६ देखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा कायम गरिएको छभने साँझ ६ बजेपछि यही भदौ २७ गते बिहान ६ बजेसम्म पुनः कर्फ्यू लगाइएको छ ।
निषेधाज्ञा तथा कर्फ्यूको समयमा अत्यावश्यक सेवाका संस्था र पसल खोल्न सकिने तथा सवारीसाधन सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । ती सबै सेवाका लागि नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न पनि भनिएको छ ।