काठमाडौँ, २५ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गङ्गा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।
जलेको अवस्थामा मृत भेटिएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ घर भई हाल ललितपुरको सुनाकोठी–२५ बस्ने २७ वर्षीय सरोज खत्री रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जलेको अवस्थामा निजको शव भेटिएको थियो । मृतकले लगाएका कपडा र घडीका आधारमा आज पहिचान खुलेको हो ।”
मृतकको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मङ्गलबार दिउँसो जेन–जी प्रदर्शन उग्र बनेपछि दाहालको घरमा आगजनी गरिएको थियो ।