भदौ २५, २०८२ बुधबार

काठमाडौँ, २५ भदौः पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ । 

कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचाररत  उहाँको स्वास्थ्यमा सुधार भइरहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । चित्रकारको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ । 

उपचारमा संलग्न चिकित्सक डा निजिना ताम्राकारले उहाँको फोक्सोमा धुवाँ भरिएको बताउनुभयो । “अवस्था अलि गम्भीर नै छ । तर स्वास्थ्यमा सुधार भइरहेको छ”, उहाँले भन्नुभयो । 
 
चित्रकारको उपचारमा डा ताम्राकारसहितका सर्जनहरुको समूह संलग्न छन् । हिजो भएको प्रदर्शनका क्रममा पूर्वप्रधानमन्त्री खनालको डल्लुस्थित घरमा प्रदर्शनकारीले आगो लगाएका थिए । आगो लागेपछि घरबाट निस्कने क्रममा उहाँ जल्नुभएको थियो ।