महेन्द्रनगर (धनुषा), २५ भदौः आगामी असोज २ र ३ गते धनुषाको मिथिला विहारी नगरपालिकाको मिथिलेश्वर मौवाहीस्थित कल्चर भिलेजमा तेस्रो सर्प महोत्सवको आयोजना हँुदैछ ।
सेभ द लिवस सोसाइटी तथा मिथिला वाइल्डलाइफ ट्रष्टको आयोजनामा हुन गइरहेको सो महोत्सवमा सर्प र त्यसका प्रजातिबारे बृहत् जानकारी, सर्पको टोकाइबाट बच्न तथा टोकिसकेपछिको प्राथमिक उपचार तथा सर्प पक्रन अपनाइने विधिसहितका जानकारी र प्रस्तुति हुने ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिनुभयो ।
सर्पको संरक्षक गर्न, सर्पले किन टोक्छ, सर्प र मानवबीचको सौहाद्रता तथा अपनत्व कसरी बढछ, सर्पसहितका जीवहरूको पनि बाँच्न पाउने अधिकार छ र यिनलाई कसरी वातावरणमैत्री बनाउने भन्ने ज्ञानमूलक आयोजनासमेत रहेकाले सहभागिताका लागि सोसाइटीका अध्यक्ष कमल देवकोटाले आग्रह गर्नुभयो ।
नेपालमा हालसम्म ८४ प्रजातिको सर्प देखापरेको जानकारी गराउँदै आयोजकले आफूहरूले हालसम्म पाँच हजार करिब सर्पको उद्धार गरेको मण्डलको भनाइ छ । तीमध्ये करिब २० अर्थात् १८ प्रतिशत सर्पमात्र विषालु भेटिएको आयोजकले बताउनुभयो ।
आज जनकपुरधाममा महोत्सवको ब्यानर अनावरण गर्दै मधेसमा सर्प र मानवबीचको शत्रुता अन्त्य गर्न तथा सर्पबारेको कथित भ्रम अन्त्य गर्दै बृहत् जानकारीमूलक आयोजना सावित हुने उल्लेख गर्नुभयो । सो अवसरमा सर्प विशेषज्ञ सुवोध आचार्यसहितको उपस्थिति थियो । यसअघि यो महोत्सव तिलोत्तमा र कावासोती नगरपालिकामा सम्पन्न भइसकेको मण्डलले जानकारी दिनुभयो ।