भदौ २५, २०८२ बुधबार

गुल्मी, २५ भदौः जिल्लाको पनाहा खोलामा पुल निर्माण भएसँगै सो क्षेत्रका नागरिकलाई आवागमनमा सहज भएको छ । रेसुङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका–२ को सङ्गमस्थल पनाहा खोलामा रु पाँच करोड लागतमा पक्की पुल निर्माण भएको हो । 

लामो समयको प्रतिक्षापछि पनाहा खोलामा निर्माण गरिएको उक्त पक्की पुलले दुई पालिकाका नागरिकलाई आवतजावत गर्न निकै सहज बनाएको छ । यसअघि पक्की पुलको अभावमा सो क्षेत्रमा वर्षौँदेखि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । 

पुल निर्माण भएपछि यतिबेला बिहान, बेलुका सदरमुकाम तम्घास आवतजावत गर्न, आवश्यक सामग्री ढुवानीमा सहज भएको स्थानीय पूर्णबहादुर श्रेष्ठले बताउनुभयो । सडक डिभिजन कार्यालय पाल्पाको रु पाँच करोड छ लाख लागतमा उक्त पुल निर्माण भएको हो । पुलको लम्बाइ ३५ मिटर र चौडाइ ११ मिटर रहेको छ । 

योसँगै अहिले रेसुङ्गा नगरपालिका‐४ बाट इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्मका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । गाईवस्तुलाई वारिपारि गराउन, गाउँमा उत्पादिन कृषि उपज बिक्रीका लागि बजारसम्म लैजान, सवारीसाधन सञ्चालन गर्न, बालबालिकालाई विद्यालयसम्म आवतजावत गर्न सजिलो बनाएको स्थानीय कमला पन्थीले बताउनुभयो ।
 
यसअघि खोलामाथि पक्की पुल नहुँदा वर्षाको समयमा मानिसलाई आधा घण्टामा पुगिने ठाउँमा डेढ घण्टाकोे यात्रा गरेर जानुपर्ने बाध्यता रहेको स्थानीय टङ्कप्रसाद श्रेष्ठले बताउनुभयो । “अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो बनाएको छ, बर्खाको समयमा खोला तर्दा कतै बगाउँला कि भन्ने ठूलो त्रास हटेको छ”, उहाँले भन्नुभयो ।

खोलामा सवारीसाधन लैजाँदा पहिला जोखिम मोल्नुपर्ने र कतिपय अवस्थामा सवारीसाधन बगाइदिने समस्या थियो । अहिले पुल बनेपछि उक्त जोखिम टरेपछि नागरिक खुसी भएका छन् । महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिद्वारा निर्माण सुरु भएको चार वर्षपछि पनाहा खोलामा पक्की पुल सम्पन्न भएको हो ।