भदौ २५, २०८२ बुधबार

सुरुङ्गा (झापा), २५ भदौः नेपाली सेनासहितको सुरक्षा फौज शान्ति सुरक्षा कायम गराउन मङ्गलबार रातिदेखि परिचालित भएपछि यहाँको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ ।

अरिदमन गण चारआलीबाट खटिएको नेपाली सेनाको सुरक्षा फौजले सुरक्षा गस्ती बढाएसँगै झापाको जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । उहाँका अनुसार आज बिहानैदेखि नेपाली सेनाले सडकमा निस्किएर अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन ‘माइकिङ’ गर्दै सुरक्षा गस्ती बढाएको हो । 

सदरमुकाम चन्द्रगढीसहित जिल्लाका मुख्यमुख्य ठाउँमा नेपाली सेनाको सुरक्षा गस्तीले माइकिङ गर्दै बिनाकारण हिँड्डुल गर्नेलाई घर फर्काइरहेको प्रजिअ अधिकारीले बताउनुभयो । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा आवतजावत गर्न छुट दिइएको उहाँले जानकारी दिनुभयो । 

मङ्गलबार प्रदर्शनकारीले झापाका एक दर्जन बढी सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालयसहित राजनीतिक नेतृत्वका घरमा तोडफोड र आगजनी गरेपछि तनावग्रस्त बनेको यहाँको जनजीवन नेपाली सेनाले सुरक्षा गस्ती बढाएसँगै बन्दै गएको हो ।