गण्डकी, २५ भदौः कास्की जिल्ला प्रशासन कार्यालयले अत्याश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणसँग आग्रह गरेको छ ।
प्रशासनले आज सूचना जारी गर्दै जेनजी प्रदर्शनका क्रममा यही भदौ २३ र २४ गते जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शनका क्रममा अवाञ्छित तत्वसमेत प्रवेश गरी सरकारी, अर्धसरकारी तथा निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल आदि तोडफोड, आगजनी तथा लुटपाट भएको जनाएको छ ।
त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न गत राति १०ः०० बजेदेखि नेपाली सेनासहित जिल्लास्थित सुरक्षा निकाय परिचालन भइसकेको र जिल्लामा शान्ति सुरक्षा सामान्य बन्दै गएको सूचनामा उल्लेख गरिएको छ ।
यस विषम परिस्थितिमा आमसर्वसाधारणलाई संयमित रहन आग्रह गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ । कुनै अवाञ्छित तथा अराजक गतिविधि भएमा नेपाली सेनाको ०६१–५८११६०, ९७६३२४६०२२, नेपाल प्रहरीको ९८५६०३९५९९, सशस्त्र प्रहरी बलको ०६१–५४४०८८, ९८५१२७२२०८० र १११४ (टोल फ्रि) मा सम्पर्क गरी खबर गर्न सबैमा प्रशासनले आग्रह गरेको छ ।